पोखरा, २ जेठ। पोखरा १७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका विभिन्न जातजातिहरू आफ्नो झाँकी सहित उपस्थित भई सांस्कृतिक विविधता प्रस्तुत गर्दै छन्। सनातन धर्म र राष्ट्रिय संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कोटिहोममा धार्मिक कार्यक्रमसँगै सांस्कृतिक झाँकी र प्रस्तुतिहरूले विशेष आकर्षण पाएको छ।
सांस्कृतिक झाँकी संयोजक डा. तुलसी प्रभास खनालका अनुसार, जेठ ४ गते आइतबार नवलपुरबाट १०० भन्दा बढी थारु समुदायका सदस्यहरू कोटिहोममा सहभागी हुँदै छन्। उनीहरूले परम्परागत लाठी नाच, झमटा, झुमरा नृत्यजस्ता झाँकीहरू प्रस्तुत गर्नेछन्। त्यसैगरी, जेठ १० गते दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट आएका समुदायहरूले बाजागाजा र थाली नृत्यसहितको झाँकी प्रस्तुत गर्नेछन्।
महायज्ञका संकल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले जेठ ३ गते शनिबार मात्रै देशभरबाट ५ सयभन्दा बढी बसमा श्रद्धालुहरूको आगमन हुने जानकारी दिएका छन्। आगामी दिनहरूमा देशैभरबाट १ हजारभन्दा बढी धार्मिक संघसंस्थाहरूको सहभागिता रहने र पोखरामा महायज्ञपछि स्थायी आश्रम स्थापना गरिने योजना समेत सार्वजनिक गरिएको छ।
कोटिहोममा धार्मिक कार्यक्रमहरू अन्तर्गत चौरासी पूजन, सवा करोड पार्थिव शिवलिङ्ग निर्माण, श्रीमद्भागवत, वेद र पुराण पाठ, २१ कोटि दीप प्रज्वलन, तुला दान, रुद्राभिषेक, शुभ विवाह कार्यक्रम लगायतका पुण्यमयी कर्मको व्यवस्था गरिएको छ। साथै, आफ्नो घरको माटो ल्याएर भूमि पूजनमा सहभागी हुने अवसरले कार्यक्रमलाई अझ भावनात्मक बनाएको छ।
वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले वैशाख २७ गतेदेखि कोटिहोममा प्रवचन गरिरहेका छन् भने जेठ ३ गतेसम्म कथा वाचन जारी रहनेछ। कोटिहोममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू — गायिका एलिना चौहान, पूर्णकला बिसी, राजु ढकाल, राधिका हमाल, हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’, देउडा गायक नन्दकृष्ण जोशीलगायतको सांगीतिक प्रस्तुति रहने प्रचार प्रसार संयोजक लेखराज ढकालले जनाएका छन्।
यसैक्रममा जेठ ११ गते ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता आयोजना हुने संयोजक खनालले जानकारी दिएका छन्। साथै, कोटिहोमको हवन कुण्डमा दैनिक चार सयभन्दा बढी ब्राम्हणहरूले आहुति अर्पण गरिरहेका छन्।
महायज्ञ जेठ २६ गतेसम्म चल्नेछ। कार्यक्रमको मूल भावना धर्म, संस्कृति, सेवा र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्नु हो, जसमा देशभरका जातीय, धार्मिक र सांस्कृतिक विविधता एकै थलोमा समेटिएको छ।































