पोखरा, ४ जेठ। पोखराको सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा सञ्चालन भइरहेको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार मात्र झन्डै एक लाख भक्तजनले दर्शन गरेका छन्। देशका ३५ जिल्लाबाट आएका श्रद्धालुहरूको उल्लेख्य उपस्थितिले कोटिहोम अभूतपूर्व धार्मिक उत्सवका रूपमा स्थापित भएको छ।

महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवारको दिनमा भएको भीडले कोटिहोम ऐतिहासिक, अद्वितीय र अविस्मरणीय बनाएको छ। विभिन्न प्रान्तबाट आएका भक्तजनले महायज्ञमा उत्साहपूर्वक सहभागिता जनाएका छन्। शतकुण्डीय यज्ञ नेपालमै पहिलो पटक आयोजना गरिएकोले भक्तजनको आकर्षण अझै बढेको छ।

शनिवार कोटिहोममा प्रख्यात साधु सन्तहरूको प्रवचन, नेपालका चर्चित कलाकारहरूको भजन प्रस्तुति र विशेष सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको थियो। सुमेरु पीठाधीश्वर जगद्गुरु शंकराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती जी महाराज, वाल सन्त स्वामी रामेश्वरानन्द सरस्वती जी महाराज, विन्ध्यवासिनी पीठाधीश्वर वाल सन्त निषेशानन्द गुरु महाराज लगायतका आध्यात्मिक व्यक्तित्वहरूले कथा वाचन तथा सन्देश दिएका थिए।

महायज्ञका प्रारम्भिक वाचक पं. दिनबन्धु पोखरेललाई विशेष समारोहबीच विदाई गरिएपछि अबदेखि बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले १३ गतेसम्म कथा वाचन गर्ने कार्यक्रम तय भएको छ। यस्तै, जेठ ४ गतेदेखि युवा दार्शनिक चैतन्यकृष्ण महाराजले पनि आफ्नो प्रवचन आरम्भ गर्नेछन्।

सांस्कृतिक तर्फ देउडा गायक नन्दकृष्ण जोशी, राधिका हमाल, पूर्णकला बिसी लगायतका कलाकारले भजन प्रस्तुत गरेका थिए भने आगामी दिनमा रमेश सापकोटा, राजु ढकाल, पल्पसा डंगोल ‘चम्सुरी’ र राजेश हमालको समेत सहभागिता रहनेछ।

कोटिहोममा विभिन्न धार्मिक अनुष्ठानहरू—जस्तै चौरासी पूजन, पार्थिव शिवलिङ्ग निर्माण, २१ कोटि दीप प्रज्वलन, तुला दान, शुभ विवाह कार्यक्रम, रुद्राभिषेक, लुघुरुद्री लगायतका कर्महरूमा सहभागिता जनाउने व्यवस्था गरिएको छ।

४ सय बढी ब्राह्मणद्वारा दैनिक हवन तथा आहुति अर्पण गरिँदै आएको कोटिहोममा हवन कुण्डका लागि भक्तजनले आवश्यक सामग्री दान गर्न सक्ने र कुण्ड परिक्रमाको अवसर समेत प्रदान गरिएको छ।

कोटिहोममा जेठ ११ गते ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता हुँदैछ, जसमा देशका विभिन्न जिल्लाका विद्यार्थीहरूको सहभागिता हुने जनाएको छ।

कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ भने आगामी दिनमा दरौँ सिरुवारिबाट जातीय झाँकी, नवलपुरबाट थारु समुदायका विशेष प्रस्तुति र विभिन्न धार्मिक, सांस्कृतिक कार्यक्रमहरू आयोजना हुनेछन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0