पोखरा, ५ जेठ। पोखराको सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा सञ्चालन भइरहेको गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा पुनः एकपटक अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथावाचिका देवी प्रतिभाको आगमन हुन लागेको छ। महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार जेठ १० गतेदेखि १६ गतेसम्म देवी प्रतिभाले कथा प्रवचन गर्ने कार्यक्रम तय गरिएको छ।
यसअघि १४ दिनसम्म कथा वाचन गरेर भक्तजनको मन जित्न सफल भएकी देवी प्रतिभाको सुमधुर वाणी पुनः पोखरामा गुन्जिने भएको छ। ‘प्यार से बोलो ना’ भन्ने शैलीबाट भक्तजनलाई भावनात्मक रूपमा जोड्न सक्ने अद्वितीय कला भएकी प्रतिभा यसपटक छुटेका भक्तजनलाई कथा श्रवण गराउने उद्देश्यले पुनः पोखरा आउन लागेकी हुन्। महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको विशेष पहलमा उनी पुनः आमन्त्रण गरिएको बताइएको छ।
कोटिहोममा आगामी दिनहरूमा थप आध्यात्मिक व्यक्तित्वहरूको समेत सहभागिता सुनिश्चित गरिएको छ। जेठ १४ देखि २२ गतेसम्म नेपालकै ख्यातिप्राप्त कथावाचिका भागवत मञ्जरी राधिकादासीले श्रीमद्भागवत कथा वाचन गर्ने कार्यक्रम तय गरिएको छ। मोरङमा जन्मेकी राधिकादासी समाजसेवा र धार्मिक ज्ञानमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सम्मानित पात्र बनेकी छिन्।
यसैबीच, कोटिहोममा झाँकी, देव लीला, नृत्य, भजन लगायत विविध प्रस्तुति निरन्तर जारी छन्। शनिवार दरौँ सिरुवारिबाट झाँकी प्रस्तुत हुने र ११ गते ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ विषयमा राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ। साथै, विभिन्न धार्मिक अनुष्ठानहरू, २१ कोटी दीप प्रज्वलन, रुद्राभिषेक, तुला दान, चौरासी पूजन लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्।
कोटिहोममा दैनिक ४ सयभन्दा बढी ब्राह्मणले हवनमा आहुति दिइरहेका छन् भने देशैभरका भक्तजनहरूको उत्साहजनक उपस्थिति रहेको छ। कोटिहोम जेठ २६ गतेसम्म सञ्चालनमा रहनेछ।































