पोखरा, ७ जेठ। पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा सञ्चालन भइरहेको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठ ९ र १० गते विशेष सम्मान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, सांस्कृतिक झाँकीसहितका विविध कार्यक्रम सञ्चालन हुने भएका छन्। धार्मिक, सामाजिक र सांस्कृतिक चेतना अभिवृद्धिको उद्देश्यले आयोजना गरिएको यस विराट महायज्ञमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिने कार्यक्रम तय भएको हो।
महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार कोटिहोम केवल धार्मिक गतिविधिमा सीमित नरहेर सामाजिक उत्तरदायित्व वहन गर्ने कर्मका रूपमा पनि अघि बढिरहेको छ। यसै सन्दर्भमा फरक क्षमता भएका व्यक्तिहरू, प्रमुख आचार्यहरू, सामाजिक अभियन्ता, धार्मिक संघसंस्थाका प्रतिनिधि, गुरुकुल पदाधिकारीहरूलाई विशेष सम्मान गरिने भएको छ। जेठ ९ गते विशेषगरी शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई समाजमा सम्मानपूर्वक स्थान दिलाउने उद्देश्यले सम्मान कार्यक्रम आयोजना हुनेछ। यस दिन रक्तदान कार्यक्रमका सक्रिय व्यक्तित्वहरू र आचार्यगणलाई समेत सम्मान गरिने प्रचार संयोजक लेखराज ढकालले जानकारी दिए।
शनिवार, जेठ १० गते देशभरिका प्रतिभाशाली चित्रकारहरूले आफ्नो सिर्जनात्मक कला प्रदर्शन गर्ने छन् भने गण्डकी प्रदेशका धार्मिक तथा सामाजिक अभियन्ता र संघसंस्थाका पदाधिकारीहरूलाई विशेष सम्मान गरिनेछ। यस दिन निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालनमा आउनेछ, जसबाट सहभागी भक्तजनले आवश्यक स्वास्थ्य परीक्षण र उपचार सेवा प्राप्त गर्न सक्नेछन्।
कोटिहोममा विभिन्न धार्मिक अनुष्ठानहरू जस्तै तुला दान, ग्रहशान्ति, विवाह, व्रतबन्ध, सप्त वार व्रत, दश महादान, गोदान, श्री सूक्त पाठ, हनुमान चालिसा पाठ, शनि मृत्युञ्जय पाठ लगायतका कर्महरू नियमित सञ्चालन भइरहेका छन्। साथै पवित्र कुण्डमा हवन सामग्री दान गर्ने र परिक्रमा गर्ने प्रथा समेत जारी छ। महायज्ञमा ४ सयभन्दा बढी ब्राह्मणले दैनिक आहुति अर्पण गरिरहेका छन्।
सांस्कृतिक झाँकी अन्तर्गत दरौँ सिरुवारिबाट आउने टोलीले जातीय बाजागाजासहितको झाँकी प्रदर्शन गर्ने छ भने थाली नृत्यजस्ता सांस्कृतिक प्रस्तुति राखिनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको भजन, देव लीला, नृत्य लगायतका प्रस्तुतिहरू कोटिहोममा नियमित भइरहेको छ। लोक गायिका तथा फाउन्डेसनकी उपाध्यक्ष राधिका हमाल र हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ को समेत विशेष प्रस्तुति रहने जानकारी गराइएको छ।
कोटिहोममा जेठ २४ गते महानायक राजेश हमालको समेत उपस्थिति रहनेछ भने जेठ १० देखि १६ गतेसम्म देवी प्रतिभाको श्रीमद् देवीभागवत कथा वाचन हुनेछ। त्यसैगरी अन्य ख्यातिप्राप्त कथावाचकहरू चैतन्य कृष्ण महाराज, दिनबन्धु पोखरेल, राधिकादासी, चन्द्रकला सखी लगायतका प्रवचनकारहरूको सहभागिता रहनेछ।
कोटिहोम महायज्ञ जेठ २६ गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा जेठ ११ गते आयोजना हुने छ। विभिन्न जातजातिको संस्कृति जगेर्नाका लागि समेत कोटिहोम सक्रिय रहेको छ। मानव सेवा फाउन्डेसनको आयोजनामा भएको यस महायज्ञले सनातन धर्मको संरक्षणका साथै सामाजिक समरसताको भावना प्रवर्द्धन गरिरहेको देखिन्छ।































