पोखरा, ७ जेठ। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा मंगलबारसम्म पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन्। दिन प्रतिदिन बढ्दो भक्तजनको सहभागिता र उल्लासमय उपस्थिति महायज्ञको केन्द्र बनेको छ। महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार आजसम्म करिब पाँच लाख भक्तजनले कोटिहोमको अवलोकन गरेका छन् भने दैनिक उपस्थिति झनै बढ्दो क्रममा छ।

सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार जेठ १० गतेदेखि दैनिक एक लाखसम्म भक्तजन आउने सङ्केत देखिएको छ। त्यस दिनदेखि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथावाचिका देवी प्रतिभा कोटिहोममा कथा वाचन गर्न आउँदैछिन् भने जेठ १६ गतेसम्म उनको प्रवचन रहनेछ। त्यसैगरी, जेठ १४ देखि २२ गतेसम्म समाजसेवी भागवत मञ्जरी राधिकादासीले श्रीमद् देवीभागवत कथा वाचन गर्ने कार्यक्रम तय गरिएको छ, जसले थप भक्तजन तान्ने आयोजकको विश्वास छ।

कोटिहोमको लोकप्रियतासँगै देशका विभिन्न भागबाट सहयोगको लहर पनि देखिएको छ। राजधानी काठमाडौंबाट कलाकवि चापागाईंले एक लाख एक हजार, विभिन्न आमा समूह, व्यक्तिहरू तथा संस्थाबाट हजारौंको सहयोग प्राप्त भएको छ। यसले महायज्ञप्रति श्रद्धा र सामाजिक एकताको गहिरो भाव उजागर गरेको छ।

कोटिहोममा धार्मिक गतिविधिसँगै सामाजिक कार्यमा पनि जोड दिइएको छ। विशेष रूपमा फरक क्षमता भएका व्यक्ति, धार्मिक अभियन्ता, गुरुकुल पदाधिकारी, तथा सञ्चारकर्मीहरूलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको छ। यसअघि पनि सयौँ सञ्चारकर्मीलाई सम्मान गरिसकिएको आयोजकले जनाएको छ।

मानव सेवा फाउन्डेसनको संयोजनमा सञ्चालित कोटिहोमले ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणमा सहयोग गर्ने उद्देश्य राखेको छ। सनातन धर्मको रक्षा र विभिन्न जातजातिको संस्कृति जगेर्नासमेत महायज्ञको प्रमुख लक्ष्य हो।

धार्मिक कार्यक्रमअन्तर्गत कोटिहोममा तुलादान, ग्रहशान्ति, विवाह, व्रतबन्ध, शिवलिङ्ग निर्माण, पितृ उद्धार र विभिन्न व्रत उद्यापनसहितका विशेष कर्महरूको व्यवस्था गरिएको छ। त्यस्तै, झाँकी प्रस्तुति, भजन प्रतियोगिता, रक्तदान कार्यक्रम, विद्यार्थी वक्तृत्वकला प्रतिस्पर्धा र सुप्रसिद्ध मोटिभेटर डा. तारा प्रसाद गिरीको निःशुल्क प्रशिक्षण पनि महायज्ञका विशेष पक्ष हुन्।

महायज्ञमा चार सयभन्दा बढी ब्राह्मणद्वारा दैनिक आहुति अर्पण भइरहेका छन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कलाकारहरूले भजन, नृत्य र देव लीलाको प्रस्तुति दिइरहेका छन्। धार्मिक तथा सामाजिक समावेशीताको सन्देश दिँदै कोटिहोम जेठ २६ गतेसम्म पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर क्षेत्र र आसपासको जग्गामा संचालन हुँदैछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0