पोखरा, ७ जेठ। पूर्व म्याराथन धावक तथा समाजसेवी अक्कल बोहराले २०२५ मे २० तारिखका दिन बिहान ८:५८ बजे विश्वको सर्वोच्च शिखर सगरमाथामा सफल आरोहण गरेका छन्। मुगुको थार्प गाउँमा जन्मेका बोहराले आफ्नै जीवनको संघर्षलाई जितेर सगरमाथाको चुचुरोमा पुगेका छन्। उनका अनुसार यो सफलता व्यक्तिगत मात्र नभई सम्पूर्ण नेपालीहरूको, विशेषतः कर्णालीको आवाज हो।

स्पेनको आल्भिर शहरमा स्थायी रूपमा बसोबास गर्दै आएका ४७ वर्षीय बोहरा ‘रारा कफी बार रेस्टुरेन्ट’ सञ्चालन गर्नुका साथै ‘अक्कल कोपिला फाउन्डेसन’ मार्फत सामाजिक सेवामा क्रियाशील छन्। उनले भूकम्प, बाढी, मिर्गौला रोग, आगलागी तथा विपन्न अवस्थाका लागि झन्डै दुई करोड रुपैयाँभन्दा बढीको सहयोग पुर्‍याएका छन्। आफ्नो जन्मथलोमा बाटो, विद्यालय र पूर्वाधार निर्माणमा समेत उनको योगदान छ।

बचपनमा किताबभन्दा पहिले जुठा भाँडा माझ्ने अक्कल भारत पुगेपछि खेतबारीदेखि भारी बोक्ने कामसम्म गरेका थिए। भारतीय सेनामा काम गर्दा राष्ट्रगान गाउने बेला देशप्रतिको माया चुलिएपछि स्वदेश फर्किएर सशस्त्र प्रहरी बलमा प्रवेश गरे र म्याराथन खेलाडीको रूपमा उदाए। त्यही आत्मबलको निरन्तर अभ्यासले उनलाई सगरमाथा आरोहणको तयारीमा मेरापिक हिमाल चढ्न पनि सफल बनायो।

अनुभवी शेर्पा मिग्मा डोक्पाको साथमा सगरमाथा सफल चढेपछि उनले क्याम्प दुईबाट भनेका थिए, ‘कर्णालीको पानी जस्तै सफा र सुन्दर मेरो देशको माया लिएर म सगरमाथामा पुगेँ।’ उनका शब्दहरूमा सगरमाथा चढ्नु केवल व्यक्तिगत यात्राको अन्त्य होइन, नेपाली अस्मिता र कर्णालीको उज्यालो प्रतिनिधित्व हो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0