File source: http://www.wikihow.com/Image:Treat-a-Victim-of-Electrical-Shock-Step-4-Version-2.jpg

पोखरा, ७ जेठ। पछिल्ला पाँच वर्षमा करेन्ट लागेर १ हजार ६ सयभन्दा बढी नेपाली नागरिकको मृत्यु भएको तथ्यांकले देखाउँछ। नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ को चैत मसान्तसम्म १ हजार ५७८ जनाको ज्यान करेन्ट लागेर गएको हो। यसमध्ये करिब ७२ प्रतिशत पुरुष, १७ प्रतिशत महिला र बाँकी बालबालिका रहेका छन्।

यी मृत्युमध्ये अधिकांश घटनामा लापरवाही, समन्वयको अभाव र असुरक्षित भौतिक संरचनालाई प्रमुख कारणका रूपमा देखाइएको छ। हालै काभ्रेको धुलिखेलमा पोलमा चढेर काम गरिरहेका २८ वर्षीय उपेश नेपालीको मृत्युले फेरि एकपटक विद्युत् सुरक्षाप्रति प्रश्न खडा गरेको छ। विद्युत प्राधिकरणले अघिल्लो दिन मात्रै लाइन चार्ज गरिने सूचना जारी गरे पनि समन्वयविना ठेकेदार कम्पनीले काम सुरु गर्दा उपेशको पोलमै मृत्यु भयो। घटनापछि मृतककी श्रीमती र प्राधिकरण तथा ठेकेदार कम्पनीबीच क्षतिपूर्ति र रोजगारीसम्बन्धी सहमति भएको छ।

यस्तै, तीन महिना अघि नवलपुरमा आर्यनसिंह ठकुरीको पनि पोलमै करेन्ट लागेर मृत्यु भएको थियो। पुरानो पोलबाट नयाँ पोलमा लाइन सार्ने क्रममा प्राधिकरणले एक्कासी करेन्ट छाडेपछि ठकुरीको घटनास्थलमै मृत्यु भएको हो। यी घटनाहरू समान प्रकृतिका देखिए पनि प्राधिकरणले गल्तीबाट सिक्ने प्रयास नगरेको आरोप लाग्दै आएको छ।

एक महिनाअघि ताप्लेजुङमा यात्रुबाहक जिप लत्रिएको नाङ्गो तारमा अल्झिँदा आगलागी भई चार जनाको ज्यान गएको घटनाले सडकमा समेत करेन्टको खतरा रहँदा सुरक्षाको गम्भीर संकट देखिएको छ।

नेपाल विद्युत् प्राधिकरणले आफ्ना तर्फबाट काम भइरहेको दाबी गरे पनि यस्ता घटना घट्नु आफैंमा गम्भीर लापरवाहीको संकेत हो। पूर्वकर्मचारी शुप्रभात भण्डारीका अनुसार सुरक्षामैत्री भौतिक संरचना निर्माण र जनचेतना अभिवृद्धि नै दीर्घकालीन समाधान हुन्। तारलाई भूमिगत गर्ने र मर्मतको क्रममा कडाइका साथ सुरक्षा मापदण्ड लागू गर्न उनले सुझाव दिएका छन्।

घरभित्रैको लापरवाहीले समेत महिला र बालबालिकाको मृत्युको घटना बढिरहेको देखिन्छ। तथापि, सबैभन्दा बढी जोखिममा रहेका मजदूरहरूको सुरक्षाका लागि तत्काल कदम चाल्नु आवश्यक देखिन्छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0