पोखरा, ७ जेठ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको चिनियाँ निर्माण कम्पनी चाइना सीएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड (सीएमसिई) ले सार्वजनिक लेखा समितिको प्रतिवेदनलाई लिएर गम्भीर आपत्ति जनाएको छ। गोरखापत्र दैनिकमार्फत विज्ञप्ति सार्वजनिक गर्दै सीएमसिईले प्रतिवेदनमा थुप्रै तथ्यगत त्रुटिहरू रहेको र गहिरो अनुसन्धान तथा वस्तुगत विश्लेषणको अभाव देखिएको आरोप लगाएको हो।

कम्पनीले प्रतिवेदनमा आफूहरूसम्बन्धी उल्लेख गरिएका विषयवस्तुहरू तथ्य र प्रमाणसँग मेल नखाने दाबी गर्दै त्यसले परियोजनाको सम्पूर्ण कार्यान्वयन प्रक्रियालाई गलत ढंगले चित्रण गरेको बताएको छ। सीएमसिईले विज्ञप्तिमा लेखेको छ, “उक्त प्रतिवेदनका आधारमा प्रकाशित सामग्रीहरूले हाम्रो कम्पनीको पेशागत छवि र जिम्मेवार ठेकेदारको भूमिकालाई प्रभावित गर्न सक्ने गम्भीर चिन्ता उत्पन्न भएको छ।”

कम्पनीले पोखरा विमानस्थलको निर्माण प्रक्रिया नेपालको कानुनी र नियामक व्यवस्था बमोजिम पारदर्शी ढंगले सम्पन्न गरिएको उल्लेख गरेको छ। साथै, सम्झौता, बोलपत्र प्रक्रियादेखि निर्माण कार्य सम्पन्न हुनसम्मका सबै चरणमा आवश्यक कागजात सुरक्षित रहेको जानकारी दिइएको छ।

सीएमसिईका अनुसार पोखरा विमानस्थल हालसम्म नेपालको सबैभन्दा आधुनिक सुविधासम्पन्न विमानस्थल हो, जुन २८ महिना सञ्चालन हुँदासम्म कुनै पनि दुर्घटना नभएको दाबी गरिएको छ। करसम्बन्धी विषयमा नेपाल र चीनबीच भएको द्विपक्षीय सहमति अनुरूप सहकारी परियोजनामा कर छुट प्रदान गर्नु अन्तर्राष्ट्रिय प्रचलनसहितको मानक रहेको कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीले सार्वजनिक लेखा समितिको प्रतिवेदनले द्विपक्षीय कूटनीतिक सम्बन्धमा असर पर्न सक्ने सम्भावना औंल्याउँदै त्यस्तो संवेदनशील विषयमा जिम्मेवार निकायले थप गहिरो अध्ययन र तथ्यगत विश्लेषण गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0