पोखरा, ७ जेठ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पोखरा महानगर समितिको पहिलो नगर अधिवेशन यही जेठ १५ गते पोखरामा हुने भएको छ। अधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढाइएको पोखरा महानगर समितिले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।

समितिका अध्यक्ष प्रेम थापाका अनुसार पार्टी निर्माण, वैचारिक सुदृढीकरण र सांगठानिक विस्तारका दृष्टिले यो अधिवेशन ऐतिहासिक बन्ने अपेक्षा गरिएको छ। उनले अधिवेशनले पोखरा महानगरभित्र पार्टीको संरचना थप सुदृढ गर्दै भावी दिशानिर्देशन गर्ने विश्वास व्यक्त गरे।

पोखरा महानगरका ३३ वटै वडाबाट प्रतिनिधिहरू अधिवेशनमा सहभागी हुने जनाइएको छ। प्रत्येक वडाबाट पाँच–पाँच जना प्रतिनिधि सहभागिता रहने र तीमध्ये आयोजक समितिका सदस्य पनि समेटिने छन्। थापाका अनुसार वडागत प्रतिनिधि १६५ र आयोजक समिति ८० सहित कूल २४५ जना प्रतिनिधिहरू अधिवेशनमा सहभागी हुनेछन्।

पत्रकार सम्मेलनकै अवसरमा समितिले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई महानगरवासीका आवश्यकता तथा समस्या सम्बोधन गर्न ६३ बुँदे मागपत्र समेत बुझाएको छ। पार्टीको कार्यक्रमअनुसार संघीय, प्रदेश र स्थानीय तहका सरकारलाई ध्यानाकर्षण गराउने क्रममा पोखरामा पनि औपचारिक रूपमा पत्र बुझाइएको हो।

अध्यक्ष थापाले बजेट निर्माणको प्रक्रियामा जनअपेक्षा समेटिनु आवश्यक भएकाले ध्यानाकर्षण पत्रमार्फत आवश्यक विषयहरू प्रस्तुत गरिएको बताए। उनले महानगरको समग्र विकासमा पार्टी सधैं सक्रिय रूपमा लागिपर्ने र जनताको पक्षमा सशक्त भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गरे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0