पोखरा, ७ जेठ। नेपाल भलिबल संघले नवौं संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८२ पोखरामा गर्ने भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा यहि जेठ ८ देखि १५ गतेसम्म लिग आयोजना गरिने संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिएका छन्। यो प्रतियोगिता नेपालमा अहिलेसम्मकै ठूलो भलिबल लिगको रूपमा मानिएको छ।
संघका अनुसार प्रतियोगितामा पुरुषतर्फ ८ टोली र महिलातर्फ ६ टोलीले सहभागिता जनाउनेछन्। पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी, गण्डकी, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द क्लब बुटवलबाट प्रतिस्पर्धा हुनेछ। महिलातर्फ नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टिप टप न्यू डायमण्ड, एभरेस्ट क्लब बुटवल र कर्णाली प्रदेश टिम सहभागी हुनेछन्।
लिगका लागि करिब ९० लाख रुपैयाँको बजेट अनुमान गरिएको छ, जसमा ३२ लाख रुपैयाँ नगद पुरस्कारका लागि छुट्याइएको छ। विजेता टिमले ८ लाख, दोस्रोले ४ लाख र तेस्रोले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। महिला तथा पुरुष दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीलाई ५०/५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ। साथै उत्कृष्ट लिब्रो, ब्लकर, लिफ्टर, स्पाइकर, सर्भर र प्रशिक्षकले जनही २५/२५ हजार नगद पुरस्कार पाउनेछन्।
प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउन प्रत्येक टिमले तीन जना विदेशी खेलाडी सहभागी गराउन पाउनेछन्। यसले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाबाट अनुभव लिने अवसर मिल्ने अध्यक्ष चन्दको भनाइ छ। संघले सहभागी खेलाडीहरूको दुर्घटना बीमाको समेत व्यवस्था गरेको छ।
प्रतियोगितालाई सफल बनाउन राष्ट्रिय खेलकुद परिषद्, शिवम् सिमेन्ट, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, लोमस फर्मास्युटिकल्स लगायतका संस्थाहरूले सहयोग गरेका छन्। गत संस्करणमा पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ नेपाल प्रहरीले उपाधि जितेका थिए। यस वर्षको विजेता टिमले आगामी जुलाईमा माल्दिभ्समा आयोजना हुने काभा च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ।






























