पोखरा, ९ जेठ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच टोकियोमा बिहीबार द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। जापानको विदेश मन्त्रालयमा भएको औपचारिक भेटका क्रममा नेपाल–जापान सम्बन्धका ऐतिहासिक, आर्थिक, सामाजिक तथा पर्यटनसहितका विविध पक्षमा गहन छलफल गरिएको डा. राणाको सचिवालयले जनाएको छ।

भेटका अवसरमा मन्त्री डा. राणाले जापानले नेपालमा विगत लामो समयदेखि पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आपसी हित र विश्वासमा आधारित सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले नेपालको विकासोन्मुख यात्रामा जापानी सहयोग अझ सशक्त र प्रभावकारी बन्ने विश्वाससमेत व्यक्त गरेकी थिइन्।

सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गरेको नेपाल र जापानले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेका छन्। सो अवसरमा मन्त्री राणाले जापानी विदेशमन्त्री ताकेसीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी छन्। साथै, उनले नेपाल सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन लागेको सन्दर्भमा जापानसँग सहयोगको अपेक्षा पनि व्यक्त गरिन्।

परराष्ट्रमन्त्री राणाले नेपालमा लगानीका लागि जापानी उद्योगी–व्यवसायीहरूलाई प्रोत्साहित गरिदिन आग्रह गर्दै नेपालको नीतिगत स्थायित्व, लगानीमैत्री वातावरण र सुरक्षा प्रत्याभूत गरिएको जानकारी दिइन्। नेपाल–जापान सम्बन्धलाई गौतम बुद्धको शिक्षा र लुम्बिनीमार्फत जोडिएको सांस्कृतिक सम्बन्धको रूपले पनि उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध औपचारिकताभन्दा परको ऐतिहासिक गहिराइमा आधारित रहेको बताइन्।

साथै, नेपालमा बर्सेनि हजारौँ जापानी पर्यटक आउने गरेको र आगामी दिनमा पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न सकिने धारणा पनि मन्त्री राणाले व्यक्त गरिन्। उनले हालै सम्पन्न सगरमाथा संवादमा जापान सरकारको उच्चस्तरीय सहभागिताप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता अन्तर्राष्ट्रिय पहलहरूमा सहकार्य बढाउने आशा व्यक्त गरिन्।

May be an image of 2 people

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0