पोखरा, ९ जेठ। सान्भि इनर्जी लिमिटेडले आगामी जेठ ९ गतेदेखि थप सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न लागेको छ। कम्पनीले २४ लाख १५ हजार ३०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो। यसअघि आयोजना प्रभावित क्षेत्र, वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर वितरण गरिसकेको कम्पनीले बाँकी शेयर सर्वसाधारणका लागि ल्याउन लागेको हो।
सान्भि इनर्जीले आफ्नो ८८ करोड रुपैयाँको जारी पूँजीमध्ये ४३.०७ प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो। यो कम्पनीले ७.६ मेगावाटको जोगमाई खोला जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ भने ५.२ मेगावाटको क्यासकेड आयोजना अन्तिम चरणमा पुगेको छ। कम्पनीको जारी पूँजी आईपीओ पश्चात पूर्ण रूपमा चुक्ता हुनेछ।
कम्पनीको वित्तीय अवस्था सुदृढ देखिएको छ। अघिल्लो आर्थिक वर्षसम्म कम्पनीको सञ्चित नाफा १० करोड ३८ लाख रुपैयाँ रहेको छ भने चालू आर्थिक वर्षमा यो १८ करोड ७७ लाख रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ। प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ७४ पैसा र प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३ पैसा रहेको कम्पनीको आईपीओमा CARE Ratings Nepal ले “CARE NP BB+” को रेटिङ दिएको छ।
सार्वजनिक निष्कासनपछि दोस्रो बजारमा कम्पनीको पहिलो कारोबार मूल्य न्यूनतम १२० रुपैयाँ ७४ पैसादेखि अधिकतम ३६२ रुपैयाँ २२ पैसासम्म निर्धारण हुने नेप्से नियमनअनुसार तय हुनेछ। आईपीओ निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ भने लगानीकर्ताले ‘मेरो शेयर’ तथा आस्वा सेवामार्फत आवेदन दिन सक्नेछन्।





























