पोखरा, ९ जेठ। पोखरा महानगरपालिका–१७ मा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले भक्तजनको अपार आकर्षण बटुलिरहेको छ। महायज्ञको मुख्य आकर्षणको रूपमा २१ फिट अग्लो र एक करोड रुद्राक्ष प्रयोग गरिएको शिवलिङ्ग र सोही उचाइको शिव मूर्तिले विशेष चर्चा बटुलिरहेको छ। दर्शनार्थीहरू यी प्रतीकात्मक संरचनासँग फोटो खिच्न, भिडियो बनाउने तथा सामाजिक सञ्जालमा सेयर गर्न उत्साहित देखिन्छन्।

महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालले शिवलिङ्ग र मूर्तिको निर्माणमा विशेष कलात्मकता समावेश गरिएको जानकारी दिए। तनहुँ दमौलीकी कामना क्षेत्री, पोखराकी कामना क्षेत्री लगायत थुप्रै भक्तजनले यिनै शिवलिङ्ग र मूर्तिका कारण महायज्ञस्थलको यात्रा विशेष बनेको बताएका छन्। स्याङ्जाको अर्जुनचौपारीस्थित नवग्रह मन्दिरको निशान प्रतिमा र सय कुण्डीय कोटिहोम परिक्रमा गर्ने दर्शनार्थीहरूको पनि उल्लेख्य भिड देखिएको छ।

प्रवचन स्थलमा थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट, उप–प्रमुख भरत गोपाली र कर्मचारीहरूको उपस्थितिले कार्यक्रमलाई थप भव्य बनाएको छ। नगरप्रमुख विष्ट र उप–प्रमुख गोपालीले प्रवचन स्थलमै नाचगानमा सहभागी भई धार्मिक भावनामा रमाएका थिए। नगरप्रमुखले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने धारणा राख्दै व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्ने प्रतिवद्धता जनाए। उपस्थित स्थानीयले जनप्रतिनिधिहरूको सक्रियता सराहनीय रहेको प्रतिक्रिया दिएका छन्।

महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयकृष्णमूर्तिजी महाराजले जेठ १० गतेदेखि दैनिक लाखौँ भक्तजन आउने अनुमान गरिएको जानकारी दिए। अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा जेठ १० देखि १६ गतेसम्म, तथा भागवत मञ्जरी राधिकादासीले जेठ १४ देखि २२ गतेसम्म प्रवचन गर्ने कार्यक्रम रहेको छ।

युवा दार्शनिक चैतन्यकृष्ण महाराज, स्वामी पुरुषोत्तमजी महाराज, शिव आचार्य गुरुज्यू लगायतले पनि भजन र प्रवचन प्रस्तुत गरिरहेका छन्। राष्ट्रिय भजन प्रतियोगितामा हालसम्म १७० समूहले सहभागिता जनाएका छन्। ३०० भन्दा बढी व्यक्तिले रक्तदान गरिसकेका छन्। विशेष दिनमा फरक क्षमता भएका व्यक्ति, आचार्य तथा सामाजिक अभियन्तालाई सम्मान गर्ने कार्यक्रम तय गरिएको छ।

मानव सेवा फाउन्डेसनले ललितपुर र भक्तपुरमा सामाजिक सेवा केन्द्र निर्माण गरिरहेको छ। यसै उद्देश्यका साथ कोटिहोम सञ्चालनमा ल्याइएको हो। यहाँ दैनिक ४ सय ब्राह्मणद्वारा हवन, पूजन, र अन्य धार्मिक गतिविधिहरू भइरहेको छ। जेठ ११ गते “सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी” विषयक वक्तृत्व प्रतियोगिता र जेठ १४ मा डा. तारा प्रसाद गिरीको प्रेरणादायी प्रशिक्षण कार्यक्रम तय गरिएको छ। यस कार्यक्रमले धार्मिक चेतना, संस्कृतिको संरक्षण र सामाजिक एकता अभिवृद्धि गर्ने विश्वास लिइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0