पोखरा, ११ जेठ। पोखरामा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ भक्तिभाव र सेवाको अनुपम उदाहरण बन्ने क्रममा अगाडि बढिरहेको छ। महायज्ञमा सहभागी भक्तजनहरूले आर्थिक सहयोगसँगै आश्चर्यजनक रूपमा ठूलो मात्रामा जग्गा समेत दान गरेका छन्। मानवसेवा फाउन्डेसनद्वारा सञ्चालित सामाजिक अभियानहरूमा योगदान पुर्याउने उद्देश्यले गरिएको यस कार्यलाई आस्थाको प्रेरणाले अघि बढाएको बताइएको छ।
महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार सल्यानस्थित विष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन्। त्यस्तै, स्व. सूर्य व. केसीको नाममा धर्मपत्नी प्रेम कुमारी केसीले आजीवन सदस्यतासहित २ लाख रुपैयाँ दान गरेकी छन्। भक्तजनहरूको उत्साह र योगदानले भविष्यमा १०० रोपनीभन्दा बढी जग्गा प्राप्त हुने आशा गरिएको छ।
महायज्ञ अन्तर्गत ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा खुला वक्तृत्वकला प्रतियोगिता सुरु भएको छ। देशभरका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट वक्ताहरूलाई नगद पुरस्कारसहित सम्मान गरिनेछ। ख्यातिप्राप्त ओजस्वी आचार्य, प्रेन्सा रेग्मी, मनीषा पौडेल जस्ता अतिथि वक्ताहरूले प्रतियोगितामा आकर्षण थपेका छन्।
कोटिहोममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभाले दिव्य प्रवचन दिइरहेकी छन्। उनको साथमा कथा वाचनमा व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, पं. दिनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराजलगायत साधु–सन्तहरूको समेत सहभागिता रहेको छ। साथै, चर्चित गायक थानेश्वर गौतमलगायत कलाकारहरूको भजन प्रस्तुति महायज्ञलाई सांस्कृतिक गहिराइ प्रदान गरिरहेको छ।
कोटिहोममा ४ सयभन्दा बढी ब्राह्मणद्वारा दैनिक हवन आहुति अर्पण गरिएको छ। कार्यक्रममा तुलादान, ग्रहशान्ति, पितृ पुराण, विवाह, भूमिदान, गोदान, १८ पुराण, ४ वेद र १०८ श्रीमद्भागवत पाठ पारायणजस्ता विविध वैदिक अनुष्ठानहरू सञ्चालनमा छन्। घरको माटो लिएर भूमि पूजनमा सहभागी हुने व्यवस्था, २१ कोटि दीप प्रज्वलन, तुला दान र शुभ विवाह कार्यक्रमसमेत महायज्ञको विशेष आकर्षण बनेका छन्।
पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको परिसर र वरपरको स्थानीय जग्गामा सञ्चालन भइरहेको कोटिहोम जेठ २६ गतेसम्म जारी रहनेछ। आध्यात्मिक, सामाजिक र सांस्कृतिक रुपमा महत्वपूर्ण यस यज्ञले पोखराको धार्मिक र सांस्कृतिक चेतनालाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ।































