पोखरा, १२ जेठ। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ उत्तरार्धतर्फ उन्मुख हुँदै जाँदा भक्तजन र दानवीरहरूको उल्लेख्य उपस्थिति देखिएको छ। कोटिहोम स्थलका विभिन्न पण्डालमा प्रवचन, हवन, भजन प्रतियोगिता, वक्तृत्वकला प्रतिस्पर्धा लगायतका गतिविधिलाई अवलोकन गर्न आउने भक्तजनको घुइँचो लाग्न थालेको छ। देश–विदेशबाट आएका साधु, सन्त र महन्तहरूको श्रुतिमधुर प्रवचनले भक्तजनमा आध्यात्मिक उर्जा थपिरहेको छ।

महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको गाउँ धुर्कोट गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष, महाराजले अध्ययन गरेका विद्यालयका अध्यक्ष, कालिका भगवती मन्दिर संरक्षण समितिका अध्यक्ष लगायतको सहभागिताले महायज्ञलाई थप गौरवमय बनाएको छ। यस्तै, राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगितामा देशभरका विद्यालयका शिक्षक र विद्यार्थीको सहभागिता रहेको छ। ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ विषयमा प्रतिस्पर्धा गरिरहेका ९० जना सहभागीहरूमध्ये २३ जनाले सोमबार आफ्नो प्रस्तुति दिएका छन्।

कोटिहोममा गण्डकी प्रदेशको धार्मिक पर्यटनमा टेवा पु¥याउने उद्देश्यसहित बागलुङकी बढिगाउँ गाउँपालिका अध्यक्ष गण्डकी थापाले व्यक्तिगत तर्फबाट दुई लाख एक हजार एक सय बाह्र रुपैयाँ दान गर्दै दुई जना अनाथ बालबालिकाको अभिभावकत्व ग्रहण गरेकी छन्। यस्तै, नेपाल सुन चाँदी रत्न व्यवसायी संघ पोखराबाट ५० हजार, विभिन्न व्यक्तित्व र संघसंस्थाबाट लाक्षणिक रकम दान प्राप्त भएको छ।

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचीका देवी प्रतिभाले आफ्नो २५ जनाको टोलीसहित प्रवचन आरम्भ गरिसकेकी छन् भने जेठ १४ देखि २२ गतेसम्म भागवत मञ्जरी राधिका दासीद्वारा श्रीमद्भागवत कथा प्रवचन हुने तय भएको छ। कोटिहोममा रक्तदान, भजन प्रतियोगिता, र आध्यात्मिक अनुष्ठानहरू समेत सञ्चालनमा छन्।

मानव सेवा फाउन्डेसनद्वारा ललितपुरको मामाघर अनाथालय र भक्तपुरको ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि कोटिहोम सञ्चालन गरिएको हो। महायज्ञमा ४ सयभन्दा बढी ब्राह्मणहरूले दैनिक आहुति दिइरहेका छन्। कोटिहोममा तुला दान, ग्रहशान्ति, विवाह, व्रतबन्ध, हवन, सूक्त पाठ, कथा वाचन, दीप प्रज्वलन, र पवित्र कर्महरूमा सहभागी हुने विस्तृत व्यवस्था गरिएको छ।

पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको परिसरमा आयोजना भएको कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0