पोखरा, २० जेठ। गण्डकी प्रदेशको पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार विशेष सांस्कृतिक रंग थपिएको छ। कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी यसपटक गुरुङ समुदायको पारम्परिक पहिरनमा उपस्थित भइ कथा सुनाउँदै देखिएपछि कार्यक्रममा फरक आकर्षण थपिएको हो।
गुरुङ समुदायको मखमल र भेल भेटको चोलो, घलेक, कटनको लुङ्गी, टिकिस, पटुका र मलिनको पछ्यौरीमा सजिएर कथा वाचन गरेकी राधिका दासी जहाँ जान्छिन्, त्यहाँको संस्कृति र पहिचानलाई आत्मसात गर्दै प्रस्तुत हुने गरेकी छन्। महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार विभिन्न धर्म, जात, र सम्प्रदायलाई एकीकृत गर्दै नेपाली धार्मिक–सांस्कृतिक धरोहरलाई विश्वसामु चिनाउने लक्ष्यले कोटिहोमको आयोजना गरिएको हो।
कोटिहोम अवलोकन गर्न सोमबार प्रतिनिधि सभा सदस्य तथा पूर्व स्वास्थ्य राज्य मन्त्री डा. तोसिमा कार्कीको समेत आगमन भएको थियो। उनले बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको नेतृत्वमा भइरहेको महायज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने बताइन्। राष्ट्रिस्वन्त्र पार्टीका अन्य नेताहरुको समेत सहभागिता रहेको कार्यक्रममा दिनानुदिन भक्तजनको उपस्थिति बढ्दै गएको संयोजक ढकालले जानकारी दिए।
महायज्ञको उत्तरार्धमा प्रवेश गर्दै गर्दा पनि भक्तजनको संख्यामा कुनै कमी आएको छैन। लोक दोहोरी गायिका टिका सानु र राधिका हमालको भजनले भक्तजनलाई भावविभोर बनाएको थियो। महायज्ञमा रक्तदान, तुला दान, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराण, शक्तिपाठ, सहस्रार्चनजस्ता विविध अनुष्ठानहरू जारी छन्।
देश विदेशबाट आएका साधु–सन्त, कथा वाचक, र अन्तर्राष्ट्रिय प्रवचनकर्ताको उपस्थिति महायज्ञको भव्यता र धार्मिक महत्त्वलाई झल्काउने खालको रहेको छ। मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाका अनुसार जेठ २६ गतेसम्म सञ्चालन हुने कोटिहोममा २१ कोटी दीप प्रज्वलन लगायतका विशेष कर्मका कार्यक्रमहरु समेत तय गरिएको छ।































