पोखरा, २१ माघ । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ। अधिवेशनको पहिलो दिन प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन गर्न बनेको अध्यादेश’ टेबल गरेका छन्। ऐनले करार सेवामा कर्मचारी राख्न निषेध गरेकामा संशोधन गरेर आवश्यकतानुसार कर्मचारी राख्न सक्ने व्यवस्था गर्न पुस ११ गते अध्यादेश जारी गरिएको थियो। सो अध्यादेशलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पुस १२ गते प्रमाणीकरण गरेका थिए।
प्रदेश सभाको बैठक प्रारम्भमा सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गरेका थिए। त्यसपछि प्रदेश सभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको थियो। म्याग्दीकी गौचनको गत कात्तिक २८ गते निधन भएको थियो। सभामुख धितालले अर्को बैठक माघ ३० गते बस्ने जानकारी गराए।
यसैबीच, गण्डकी प्रदेश सभामा पहिलो पटक सांकेतिक भाषाको दोभासे व्यवस्था गरिएको छ। प्रदेश सभा सदस्य सुनिता थापाको सहजताका लागि सचिवालयले ज्यालादारीमा दोभासेको व्यवस्था गरेको हो। यसअघि नै प्रदेश सभामा श्रवणविहीन व्यक्तिहरूका लागि दोभासे राख्नुपर्ने आवाज उठ्दै आएको थियो। समानुपातिक कोटाबाट मनोनीत थापा सोमबार पहिलो पटक प्रदेश सभाको बैठकमा सहभागी भएकी थिइन्।
गण्डकी प्रदेश सभाको यस हिउँदे अधिवेशनमा आगामी बैठकहरूमा विभिन्न विधेयक र नीतिगत विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ।






























