पोखरा, १२ फागुन। अत्यधिक हिंसात्मक दृश्य समेटिएको भन्दै रोकिएको नेपाली चलचित्र ‘ताण्डव’ अन्ततः केन्द्रीय चलचित्र जाँचपास समितिबाट स्वीकृत भएको छ। सेन्सर बोर्डले विशेष गरी नारीमाथि देखाइएको एकै प्रकारको ६ मिनेट लामो दृश्य हटाउन निर्देशन दिएपछि चलचित्रलाई ‘पीजी प्रमाणपत्र’ प्रदान गरिएको हो। सेन्सर प्रक्रियामा विभिन्न अन्य दृश्यहरूसमेत परिमार्जन गर्दै चलचित्रको कुल १० मिनेट सामग्री काटिएको छ।
चलचित्र सेन्सर बोर्डका सदस्य भूपेन्द्र कुमार खड्काका अनुसार चलचित्रमा नारीमाथि अति हिंसात्मक दृश्य देखिएकाले कटौती गर्न निर्देशन दिनु परेको थियो। उक्त दृश्य हटाइएपछि अब १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा चलचित्र हेर्न सक्नेछन्। सेन्सर बोर्डबाट स्वीकृति प्राप्त गरेसँगै ‘ताण्डव’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ।
चलचित्रका निर्देशक तथा अभिनेता जुनिम गहतराजले कथाको मूल मर्म यथावत राख्दै सेन्सर बोर्डको सुझावअनुसार १० मिनेट दृश्य हटाइएको बताए। उनले दर्शकलाई प्रभावशाली चलचित्र दिन आफूले सक्दो प्रयास गरेको उल्लेख गर्दै ‘ताण्डव’ ले राम्रो प्रतिक्रिया पाउने विश्वास व्यक्त गरे।
चलचित्र शुक्रबार बेलुका प्रेस शोमा प्रदर्शन गरिएको थियो, जसमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको निर्देशक गहतराजले बताए। पारिवारिक र एक्सन थ्रिलर विधामा निर्माण भएको यस चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ।
सिंहदेवी प्रोडक्सनले भिजुअल आर्ट्स स्टुडियोसँगको सहकार्यमा निर्माण गरेको ‘ताण्डव’ का निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन्। हरि घले लामाको छायांकन रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, सुशान्त गौतमको संगीत र कोविद बज्रको पाश्र्व संगीत रहेको छ। चलचित्रको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्।






























