पोखरा, १५ फागुन। पोखराको प्रमुख पर्यटकीय स्थल सराङकोटमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ तथा धार्मिक पर्यटन महाउत्सव सुरु भएको छ। फागुन १४ देखि २१ गतेसम्म सञ्चालन हुने महायज्ञको शुभारम्भ बुधबार पूर्वाङ्गसहित गरिएको हो।
महायज्ञको पहिलो दिन पोखराको गाईघाटबाट कलश यात्रा निकालिएको थियो। भक्तजनहरूले सेती नदीमा स्नान गरेपछि बाजागाजा, भजन तथा युद्धकलासम्बन्धी सरुन खेल सहित यात्रा सुरु गरेका थिए। यात्रा विन्ध्यवासिनी मन्दिर, सेदी हुँदै अन्नपूर्ण केवलकारमार्फत सराङकोट टप पुगेपछि मूल समारोहमा परिणत भएको थियो।
उद्घाटन समारोहमा ४५ लाख ७५ हजार रुपैयाँ सहयोग संकलन भएको छ। अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङले २५ लाख, आयोजक प्रेमबहादुर जिसीको परिवारले १५ लाख, खिमबहादुर जिसी परिवारले २ लाख ३३ हजार तथा अन्य भक्तजनहरूले थप सहयोग गरेका थिए।
महायज्ञका मुख्य वाचक भागवत्भाष्कर पण्डित कमलनयन गौतम ले सराङकोटलाई पुण्यभूमिको संज्ञा दिँदै यहाँ भएको धार्मिक विकासको चर्चा गरे। उनले हालसम्म छ वटा यज्ञ आयोजना भइसकेको स्मरण गराए। पोखरा महानगरका प्रवक्ता मोतीराज तिम्सिनाले महाउत्सवले पोखरा भ्रमण वर्षलाई टेवा पुर्याउने विश्वास व्यक्त गरे।
महायज्ञ अवधिभर सामूहिक ब्रतबन्ध, लाख बत्ती, ग्रहशान्ति, रुद्री, चौरासी पूजा तथा संगीतमय भजनकीर्तन हुने आयोजक समितिले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल फागुन १७ गते महायज्ञमा सहभागी हुने कार्यक्रम छ।
सराङकोटमा धार्मिक तथा पर्यटकीय संरचना विकासलाई तीव्रता दिइएको छ। हालसम्म यहाँ विशाल शिव मन्दिर, नेपालकै पहिलो पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर लगायत संरचना निर्माण भइसकेको छ। निर्माणका लागि हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ भने आगामी योजनामा १५ करोडको थप संरचना विकास गर्ने लक्ष्य राखिएको छ।































