पोखरा, १५ फागुन। कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले आफ्नो क्षेत्रभित्रको प्राकृतिक स्रोतको उचित उपयोग हुन नसक्दा स्थानीय विकासमा अवरोध भएको बताएका छन्। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल माछापुच्छ्रे गाउँपालिकाको प्रथम गाउँ परिषद उद्घाटन गर्दै उनले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले स्थानीय स्रोतलाई प्रयोग गर्दा स्थानीय तहहरू स्रोत विहीन भएको उल्लेख गरे।
अध्यक्ष गुरुङले भने, “आफ्नो क्षेत्रभित्रको प्राकृतिक स्रोत परिचालन गर्ने संवैधानिक अधिकार स्थानीय सरकारलाई छ। तर एक्यापले नै सबै स्रोत र साधन प्रयोग गर्दा हाम्रो क्षेत्रका १६ स्थानीय तह स्रोत विहीन भएका छन्।” उनले १९८६ मा स्थापना भएको एक्यापले १० वर्षभित्र समुदायलाई हस्तान्तरण गर्नुपर्ने सहमति भएको तर अहिले पनि आयोजनाकै रुपमा कायम रहेको गुनासो गरे।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरिप्रसाद बास्तोलाले वनको संरक्षण, सम्वद्र्धन र उपयोगको अधिकार दिनका लागि संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई सामुदायिक वन समूहमा परिणत गर्नुपर्ने आवश्यकता औंल्याए। महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले सरकारले स्थायी लेखा नम्बर (प्यान) लिनको लागि दिएको छुटको भरपूर उपयोग गर्न आग्रह गरेका छन्।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ का कार्यवाहक वडाअध्यक्ष गुरुदत्त अधिकारी, महासंघ कास्कीका उपाध्यक्ष चूडामणि अधिकारी, समाजसेवी रामचन्द्र अधिकारी, र स्थानीय महासंघका कोषाध्यक्ष पार्वती अधिकारी लगायतका व्यक्तिहरूले बोलेका थिए।




























