पोखरा, १६ फागुन। गोरखाको प्रमुख धार्मिक पर्यटकीय स्थलहरू मनकामना मन्दिर र गोरखकाली मन्दिरलाई जोड्ने पदयात्रा आजदेखि सुरु भएको छ। गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सहयोगमा रोटरी क्लब अफ गोरखाले आयोजना गरेको यस पदयात्राले जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।
रोटरी क्लब अफ गोरखाका अध्यक्ष विनोदकुमार बस्न्यातका अनुसार मनकामनाबाट गोरखकालीसम्मको पदमार्गलाई व्यवस्थित गर्न सकेमा धार्मिक पर्यटक गोरखकालीसम्म पुग्ने वातावरण बन्नेछ। गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले यस पदमार्गले धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बोकेको बताए।
यस पदमार्गमा मनकामना मन्दिर, बक्रेश्वरी मन्दिर, शिद्धलखन थापाको गुफा, नेपालका प्रथम सहिद लखन थापाको जन्मस्थल, काउँले भङ्गार, कुहिरेभिरलगायत स्थल पर्दछन्। गोरखा भ्रमण वर्षको घोषणा गरी पर्यटन प्रवर्द्धनका विभिन्न योजनाहरू कार्यान्वयन गरिँदै आएको पनि नगर प्रमुख रानामगरले जानकारी दिए।
पदयात्रा टोली आज सहिद लखन गाउँपालिकामा बास बसेर भोलि गोरखकाली मन्दिरमा पुगेर यात्रा समापन गर्नेछ। क्लबले सन् २०१९ देखि हरेक वर्ष यो यात्रा आयोजना गर्दै आएको छ।




























