पोखरा, २२ फागुन। लुम्बिनी प्रदेश सरकारले समपूरक तथा विशेष अनुदानका आयोजनाहरू स्वीकृत गरी राष्ट्रिय योजना आयोगमा पठाउने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयहरूमा प्रदेश सचिवहरूको जिम्मेवारी तोक्ने लगायतका महत्वपूर्ण निर्णयहरू गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए।
बैठकको निर्णयअनुसार कवीन्द्र नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवका रूपमा तोकिएको छ। बलराम ढकाललाई युवा तथा खेलकुद मन्त्रालय, लोकबहादुर सुनारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नारद गौतमलाई उद्योग, पर्यटन तथा यातायात मन्त्रालय तथा दुर्गालक्ष्मी श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।
यस्तै, प्रदेश सरकारको बैठकले प्रदेश खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा विधेयकको अवधारणा पत्रमाथि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ। साथै, लुम्बिनी प्राविधिक विश्वविद्यालयको सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको प्रवक्ता पन्थीले जानकारी दिए।






























