पोखरा, २६ फागुन। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रतिगामी तत्त्वहरू सल्बलाउन थालेकाले परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको छ।
पार्टीद्वारा केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार आयोजित कार्यक्रममा उहाँले जनताको लामो सङ्घर्षबाट प्राप्त अधिकार तथा वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको बताउनुभयो।
उहाँले सरकारलाई कार्यशैली सच्याएर गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “प्रतिगामी यथास्थितिवादीहरूले अहिले टाउको उठाउन थालेका छन्। सो विषयलाई पार्टीले गम्भीर रूपमा लिएको छ।”
केही समययता काठमाडौँ उपत्यकालगायत मुलुकका केही सहरहरूमा भइरहेका नारा जुलुसले सरकार मात्रै होइन, लोकतन्त्र माथि नै प्रहार भइरहेको उहाँको भनाइ थियो।
अध्यक्ष नेपालले लोकतन्त्र माथिको प्रहार सह्य नहुने विचार व्यक्त गर्दै संविधान, लोकतन्त्रका साथै सङ्घीय गणतन्त्रको रक्षाका लागि सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभयो। उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको बलिदान तथा सङ्घर्षबाट प्राप्त भएकाले त्यसको रक्षाका लागि सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो।































