पोखरा, ७ चैत्र। धवलागिरि बहुमुखी क्याम्पस, बागलुङको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुकी आस्मिन शेख विजयी भएकी छिन्। अखिल संयुक्त प्यानलबाट उम्मेदवारी दिएकी शेखले नेपाल विद्यार्थी संघकी सृष्टि आचार्यलाई ६१ मतले पराजित गर्दै जित हात पारेकी हुन्। शेखले ५५२ मत प्राप्त गरिन् भने आचार्यले ४९१ मत पाइन्। स्वतन्त्र उम्मेदवार दीपक सुवेदीले ७ मत प्राप्त गरे।
स्ववियुको सचिव र कोषाध्यक्ष पदमा भने नेविसंघका उम्मेदवार विजयी भएका छन्। सचिव पदमा सचिन हरिजनले ५३४ मत प्राप्त गर्दा, कोषाध्यक्ष पदमा विशाल थापाले ६५४ मत ल्याएर जित निकाले। अखिल संयुक्त प्यानलका उम्मेदवार रुद्रबहादुर पुनले ५०९ मत र रेशा शर्माले ३८४ मत प्राप्त गरे।
सदस्य पदमा अधिकांश नेविसंघका उम्मेदवार विजयी भए। उनीहरूमा प्रशान्त सुवेदी, दीपसागर सुवेदी, सुदीप घर्ती, सृष्टि घर्ती, सुवासबाबु घर्ती, सेमन्त शर्मा र शुभम राजभण्डारी छन्। अखिल संयुक्त प्यानलबाट विकल्प घर्तीमगर मात्र विजयी भए।





























