भेटघाट सभामुखको कार्यालय सिंहदरबारमा शनिबार भेट गर्दै प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। तस्बिर प्रदीपराज वन्त रासस

पोखरा, ९ चैत्र। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बन्न प्रस्ताव गरे पनि दाहालले उक्त प्रस्ताव अस्वीकार गर्नुभएको छ। ओली नेतृत्वको सरकारको विकल्प खोज्ने प्रयासस्वरूप देउवाले आफ्नो एक विश्वासपात्र नेतामार्फत दाहाललाई प्रधानमन्त्री बन्न आग्रह गर्नुभएको थियो। तर, दाहालले उक्त प्रस्ताव अस्वीकार गर्दै देउवालाई आफैं अघि बढ्न सुझाव दिनुभएको बताइएको छ।

आन्तरिक राजनीतिक दौडधुप तीव्र भइरहेका बेला शुक्रबार वीरगञ्जमा आयोजित कार्यक्रममा प्रचण्डले आफू २०८४ सालसम्म सरकारको नेतृत्व नगर्ने स्पष्ट पार्नुभयो। तर, उहाँले सत्ता परिवर्तनको संकेत गर्दै ‘केही न केही हुन्छ’ भन्ने अभिव्यक्ति दिनुभएको छ। उहाँले अहिलेको सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै आफू जनताका पक्षमा उभिने बताउनुभएको छ।

सत्ता साझेदार दल कांग्रेसभित्र सरकारप्रति असन्तोष बढ्दै गएको देखिन्छ। विशेष गरी परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणाले भारतसँगको सम्बन्ध सुधारका लागि गरिरहेका पहलहरू असफल भएपछि ओली नेतृत्वको सरकारसँग लामो सहकार्य गर्न नसकिने आवाज कांग्रेसभित्र उठ्न थालेको छ। यही असन्तोषका कारण देउवाले ओलीको विकल्प खोज्ने प्रयासस्वरूप माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग संवाद अघि बढाउनुभएको हो।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेताहरूसँग छलफलको प्रयास गरिरहनुभएको भए पनि प्रचण्डले स्वास्थ्य समस्या देखाएर भेट्न अस्वीकार गरेको प्रधानमन्त्रीको दाबी छ। तर, त्यही समय प्रचण्ड चितवन पुगेर कार्यकर्तासँग भेटघाट गरेको देखिएको छ। उहाँले बिहान मर्निङ वाक गरेको भिडियो छोरी गंगाले सार्वजनिक गरेपछि ओलीलाई भेट्न अस्वीकृत गर्नु बहानामात्रै हो कि भन्ने आशंका उत्पन्न भएको छ।

सरकारप्रति आक्रामक देखिन थालेका प्रचण्डले वीरगञ्जमा आयोजित कार्यक्रममा ओली नेतृत्वको सरकार भ्रष्टाचारलाई प्रश्रय दिने, अराजकता बढाउने र राम्रो काम गर्नेहरूलाई अपमानित गर्ने प्रवृत्तिको भएको आरोप लगाउनुभयो। उहाँले आफ्नो नेतृत्वको सरकारमा विभिन्न ठूला भ्रष्टाचार काण्डको छानबिन गरिएको, नागरिकताविहीन नागरिकलाई समाधानको पहल गरिएको तथा आर्थिक विकासका लागि ठोस कार्य गरिएको दाबी गर्नुभयो।

ओली सरकारको आलोचना गर्दै उहाँले भने, “सरकारको प्राथमिकता भ्रष्टाचारीलाई जोगाउने, गलत काम गर्नेहरूलाई पुरस्कृत गर्ने, तर राम्रो गर्नेहरूलाई अपमानित गर्ने देखिएको छ। यसको ज्वलन्त उदाहरण कुलमान घिसिङको प्रसंगबाट पनि बुझ्न सकिन्छ।”

माओवादी केन्द्र सरकारबाट बाहिरिँदा पनि आफ्नो विचार र सिद्धान्तमा अडिग रहेको उहाँको भनाइ थियो। सत्ता समीकरण फेरबदलका संकेत देखिए पनि प्रचण्ड स्वयं भने २०८४ सम्म प्रधानमन्त्रीको दौडमा नरहने पक्षमा देखिनुभएको छ। तर, उहाँको ‘केही न केही हुन्छ’ भन्ने भनाइले राजनीतिक वृत्तमा चर्चा चलाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0