पोखरा, १५ वैशाख। गण्डकी कोटिहोममा आज भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दहालको उपस्थितिमा विशेष महायज्ञ कार्यक्रम सुरु भएको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माणसहित शुभारम्भ गरिएको महायज्ञमा प्रमुख दहालको सहभागिताले कार्यक्रमलाई विशेष महत्त्व प्रदान गरेको छ। गण्डकी कोटिहोमले सामाजिक र धार्मिक क्षेत्रलाई सशक्त बनाउन थालेको यो अभियानले स्थानीय तथा बाहिरी भक्तजनहरूबीच व्यापक आकर्षण सिर्जना गरेको छ।
४१ दिनसम्म सञ्चालन हुने महायज्ञमा भक्तजनहरूलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्ड जस्ता सामग्रीसहित सहभागी हुन आमन्त्रण गरिएको छ। यस अवसरमा सुश्री अनुराधा पाण्डेय र अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाद्वारा कथा प्रवचन सुरु भइसकेको छ भने दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज र सुप्रिया किशोरीजस्ता धर्मगुरुहरूको पनि सक्रिय सहभागिता रहनेछ। दैनिक रूपमा भजन, सत्सङ्ग, पूजापाठ, आरती तथा विविध सांस्कृतिक प्रस्तुतिहरूले महायज्ञलाई जीवन्त बनाइरहेको छ।
महायज्ञलाई अझ आकर्षक बनाउन आयोजकले सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरेको छ। लाखौं भक्तजनको उपस्थिति अपेक्षित यस कार्यक्रममा देवी प्रतिभाले धार्मिक र सामाजिक चेतनाको अभिवृद्धिमा पुर्याउँदै आएको योगदानलाई अझ व्यापक बनाउने विश्वास गरिएको छ। प्रमुख रेनु दहालको सहभागिताले गण्डकी कोटिहोमको सामाजिक र सांस्कृतिक अभियानलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।































