पोखरा, ४ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिकाका जलवायु मामिलासम्बन्धी विशेष प्रतिनिधि मुख्तर बाबायेभले शनिबार शिष्टाचार भेट गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सम्पन्न उक्त भेटमा जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी चुनौतीहरूबारे आपसी सहकार्य र साझा प्रतिबद्धताको आवश्यकता औंल्याइएको थियो।
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको असर सबै मुलुकमा देखिन थालेको भन्दै त्यसको प्रभाव न्यूनीकरण गर्न साना तथा असम्लग्न राष्ट्रहरूबीच एकता र समन्वय आवश्यक रहेको धारणा राखे। उनले ‘हिमालदेखि समुद्रसम्म’ को अवधारणाले जलवायु संकटको बहुआयामिक प्रभावलाई सम्बोधन गर्ने उल्लेख गर्दै अजरबैजानले कोप–२९ को अध्यक्ष मुलुकको हैसियतले लिएको नेतृत्वको प्रशंसा गरे।
नेपालको पहलमा सञ्चालित सगरमाथा संवाद कार्यक्रमको सन्दर्भमा अजरबैजानका प्रतिनिधि बाबायेभले नेपालले उठाएका विषय विश्वव्यापी रूपमा सान्दर्भिक रहेको बताउँदै त्यसका सन्देशहरू अन्तर्राष्ट्रिय समुदायमा पुर्याउने प्रतिबद्धता जनाए। उनले सगरमाथा क्षेत्र जस्ता संवेदनशील हिमाली भूभागहरूको संरक्षणका लागि नेपालको योगदान प्रशंसनीय रहेको टिप्पणी गरे।
भेटवार्तामा नेपालका लागि अजरबैजानका गैह्रआवासीय राजदूत, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू तथा अन्य सम्बद्ध व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।































