जुम्ला । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई विस्तार गर्न सरकारले विशेष पहल गरिरहेको बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले कर्णालीको स्वास्थ्य सेवा सुदृढ बनाउन प्रतिष्ठानलाई थप जिम्मेवारीका साथ कार्य गर्न निर्देशन दिए। उनले स्वास्थ्य सेवालाई सबैजनासम्म पुर्याउन मन्त्रालय कटिबद्ध रहेको र प्रतिष्ठानले दक्ष जनशक्ति उत्पादन गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औंल्याए। मन्त्री पौडेलले कर्णालीको स्वास्थ्य क्षेत्रलाई वार्षिक बजेटमा विशेष प्राथमिकतामा राखिएको समेत जानकारी गराए।
समारोहमा मन्त्री पौडेलले जलनका सबै बिरामीहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको र यो सुविधा स्वास्थ्य सेवा विस्तारको एउटा महत्वपूर्ण कदम भएको उल्लेख गरे। समारोहमा संयुक्त राज्य अमेरिकाको हार्वड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक प्राडा क्रिस्टिन मसेङ्गर प्रमुख अतिथि रहेका थिए। दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ, र चिकित्साशास्त्रमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थीलाई दीक्षित गरिएको थियो, जसको जानकारी प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले गराएका थिए।
यसअघि यो दीक्षान्त समारोह भदौ २३ गतेका लागि तय गरिएको भए पनि केही कारणवश हाल सम्पन्न गरिएको हो। समारोहकै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवनको उद्घाटन गरेका थिए। कर्णालीको स्वास्थ्य सेवामा सुधार र गुणस्तरीय सेवा प्रवाहका लागि यो भवनले विशेष योगदान पुर्याउने अपेक्षा गरिएको छ।
– रासस































