काठमाडौं, ३ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकाल समाप्त हुने बेलामा युक्रेनलाई लामो दुरीको मिसाइल प्रयोग गरी रुसमाथि आक्रमण गर्न अनुमति दिएका छन्। आइतबार युक्रेनको राजधानी किभमा भएको भीषण रुसको हवाई आक्रमणपछि बाइडेनले यस्तो निर्णय लिएका हुन्। लामो दुरीको यी मिसाइलको आपूर्ति अमेरिकाले नै गरेको हो।
रुसले आइतबार युक्रेनमा ६० भन्दा बढी मिसाइल र १०० भन्दा बढी ड्रोन प्रहार गरेको थियो। रुसको आक्रमणपछि किभलगायतका क्षेत्रका स्थानीयले ज्यान जोगाउन बंकरमा शरण लिनुपरेको छ। युद्धको ३३ महिनाको अवधिमा हजारौंले ज्यान गुमाइसकेका छन् भने लाखौं मानिस घरबारविहीन बनेका छन्। यस्तो अवस्थामा अमेरिकी प्रशासनले लिएको यो कदमलाई विशेष चासोका साथ हेरिएको छ।
युद्धको नयाँ चरण र अमेरिकी नीतिमा बदलाव
युक्रेनमाथि बढ्दो रुसी आक्रमणको जवाफमा लामो दुरीको मिसाइल प्रयोग गर्न पाउने निर्णयलाई कतिपयले अमेरिकी नीतिमा आएको ठूलो फेरबदलका रूपमा पनि लिएका छन्। बाइडेन प्रशासनको यो निर्णयले रुस र युक्रेनबीचको युद्धलाई थप पेचिलो बनाउने अनुमान गरिएको छ। यद्यपि, ह्वाइटहाउसले यसबारे विस्तृत प्रतिक्रिया दिएको छैन।
यता, अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भने रुस–युक्रेन युद्ध अन्त्य गर्न सक्दो प्रयास गर्ने बताएका छन्। युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले दुई दिनअघि मात्र एक रेडियो अन्तर्वार्तामा रुससँगको युद्ध कूटनीतिक माध्यमबाट अन्त्य गर्न चाहेको र यसमा ट्रम्पले सहयोग गर्नसक्ने विश्वास व्यक्त गरेका थिए।
उत्तर कोरियाको समर्थनमा रुस
समाचार एजेन्सी एपीका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमणका लागि उत्तर कोरियाको सहयोग पाएका छन्। उत्तर कोरियाले रुसमा आफ्ना हजारौं सैनिक पठाएको बताइएको छ। यससँगै रुसले युक्रेनमाथि अझै घातक आक्रमण गर्नसक्ने सम्भावना देखिएको छ।
अमेरिकाको यो निर्णयले युक्रेनलाई थप सशक्त बनाउन सक्ने भए पनि यसले युद्धलाई थप चर्काउने संकेतसमेत देखिएको छ। रुस र युक्रेनबीचको यस द्वन्द्वले अन्तर्राष्ट्रिय राजनीति र सुरक्षा वातावरणमा गम्भीर प्रभाव पार्ने निश्चितजस्तै देखिन्छ।
– एजेन्सीको सहयोगमा




























