अमेरिकी राष्ट्रपति चुनावमा एलन मस्कले खुलेर डोनाल्ड ट्रम्पलाई समर्थन गरेका थिए। चुनाव जित्दै डोनाल्ड ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपति बन्न सफल भए। ट्रम्पको जितसँगै एलन मस्कको कुल सम्पत्ति उकालो लाग्नुका साथै उनले ट्रम्प सरकारमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्। तर, ट्रम्पलाई समर्थन गर्नुले मस्कलाई सामाजिक सञ्जालको क्षेत्रमा भने नकारात्मक असर गरेको छ।
रिपोर्टअनुसार, ट्रम्पको जितलगत्तै एलन मस्क स्वामित्वको सोसल मिडिया प्लाटफर्म एक्स (पूर्व ट्वीटर) बाट एक लाख १५ हजारभन्दा बढी प्रयोगकर्ताले आफ्नो अकाउन्ट डिएक्टिभेट गरेका छन्। सन् २०२२ मा मस्कले एक्स खरिद गरेयता यति धेरै संख्यामा प्रयोगकर्ता गुमाउने यो पहिलो घटना हो।
सीएनएनका अनुसार, धेरै प्रयोगकर्ता ब्लुस्काई जस्ता वैकल्पिक प्लेटफर्मतर्फ सर्दैछन्। Similarweb को रिपोर्टलाई आधार मान्दै सीएनएनले भनेको छ कि एक्सबाट डिएक्टिभेट हुने तथ्यांकमा वेबसाइट प्रयोगकर्तामात्र समावेश छन्, मोबाइल एपबाट अकाउन्ट बन्द गर्नेको डेटा भने समावेश गरिएको छैन।
यसबीच ब्लुस्काईले आफ्नो लोकप्रियता बढाउँदै डेढ करोड प्रयोगकर्तासम्मको आँकडा पुर्याएको छ। यस प्लेटफर्ममा पछिल्लो हप्तामात्र १० लाख नयाँ प्रयोगकर्ता थपिएका छन्। अमेरिकी चुनावपछि धेरैजना कलाकार, पत्रकार, तथा संस्थाले एक्स छाडेका छन्। द गार्जियन र ला भ्यांगुआर्डियाले त एक्समा समाचार पोस्ट गर्न समेत बन्द गरिसकेका छन्।
शोधकर्ताका अनुसार, ट्रम्पलाई समर्थन गरेको अवधिमा एक्समा महिलाविरुद्धको अपमानजनक भाषा प्रयोग बढेको छ, जसले प्रयोगकर्तामा असन्तुष्टि थपेको छ।
ब्लुस्काई, जुन ट्वीटरका पूर्वसीईओ ज्याक डोर्सीले स्थापना गरेका हुन्, विकेन्द्रित प्रविधिमा आधारित एक नयाँ प्लेटफर्म हो। यसले प्रयोगकर्तालाई बढी स्वतन्त्रता दिनुका साथै विज्ञापनमुक्त सेवा प्रदान गर्दछ। ब्लुस्काई अब पारम्परिक सामाजिक सञ्जालको बलियो विकल्पका रूपमा स्थापित भइरहेको छ।




























