काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केपछि प्रधानसेनापति अशोकराज सिग्देल भारत भ्रमणमा जान लागेको छन्। प्रधानमन्त्री ओली भोलि बिहीबार चीनबाट फर्कनुहुने छ भने प्रधानसेनापति सिग्देल मङ्सिर २६ गते भारत जानुहुने छ र उहाँको चार दिने भ्रमण २९ गते समाप्त हुनेछ। परराष्ट्र मन्त्रालयका स्रोतले जानकारी दिनुभएको छ कि प्रधानसेनापति सिग्देल भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न लिन भारत जान लागेको हो।
नेपाल र भारतका सेनाध्यक्ष बीच मानार्थ महारथीको दर्ज्यानी चिह्न साटासाट गर्ने परम्परा पुरानो हो। यसअघि भारतीय सेनाका प्रमुख उपेन्द्र द्विवेदीले पाँच दिने नेपाल भ्रमणमा आएर नेपाली सेनाबाट मानार्थ चिन्ह प्राप्त गर्नुभएको थियो। प्रधानसेनापति सिग्देलको भ्रमण पनि यस परम्परालाई निरन्तरता दिने उद्देश्यले हो।
भारत र नेपालका सम्बन्धमा पछिल्लो समयमा तिक्तता बढिरहेका बेला प्रधानसेनापति सिग्देलको यो भ्रमण अर्थपूर्ण मानिएको छ। विशेष गरी बीआरआईको सहकार्य फ्रेमवर्कमा चीन र नेपाल बीच सहमति भएपछि नेपालको भूराजनीति थप पेचिलो भएको छ। यसै बीच, भारत भ्रमणमा जानुका साथै प्रधानसेनापति सिग्देलले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहसँग भेटघाट गर्ने कार्यक्रम राख्नुभएको छ।
प्रधानसेनापति सिग्देलको यो भ्रमण नेपाल र भारत बीचको तिक्तता कम गर्न महत्वपूर्ण योगदान पुर्याउने आशा गरिएको छ।


























