पोखरा, २३ मंसिर। घानामा शनिबार सम्पन्न आम निर्वाचनपछि मतगणना कार्य जारी छ। निर्वाचन प्रक्रिया अधिकांशतः शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि देशको उत्तर क्षेत्रमा भएको गोलीकाण्डले एक जनाको ज्यान गएको छ।
बिबिसीका अनुसार, उत्तर घानाको न्याङ्कपाला नगरमा एक विपक्षी सांसद उम्मेदवारले उजुरी दिन खोज्दा सत्तारुढ दलका समर्थकहरूले उनलाई रोक्न खोजेपछि विवाद भएको थियो। विवादपछि गोली चल्दा एक जनाको मृत्यु भएको हो। प्रहरीले घटनामा संलग्न चार व्यक्तिलाई पक्राउ गरेको छ भने शान्ति कायम गर्न सशस्त्र सैनिकहरूलाई त्यहाँ पठाइएको छ।
बाँकी स्थानहरूमा भने मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। कतिपय स्थानमा मतदाताहरू बिहान सबेरै लाइनमा बसेर मतदान गरेका थिए। मतदान केन्द्रहरूमा स्थानीय समयअनुसार बेलुका ५ बजे मतदान प्रक्रिया समाप्त भएको थियो।
बिबिसीका अनुसार, घानाका राष्ट्रपति नाना अकुफो-अड्डोको दुई कार्यकाल पूरा भएकाले नयाँ राष्ट्रपति चयन हुने पक्का छ। प्रमुख प्रतिस्पर्धीमा विपक्षी एनडीसीका पूर्वराष्ट्रपति जोन महामा र सत्तारुढ एनपीपीका उपराष्ट्रपति महमुदु बाउमिया रहेका छन्। यदि बाउमियाले विजय हासिल गरे भने उनी देशको पहिलो मुस्लिम राष्ट्रपति बन्नेछन्।
त्यसका साथै व्यवसायी नाना क्वामे बेदियाको र एनपीपी परित्याग गरेका एलेन क्येरेमाटेन पनि राष्ट्रपति पदका प्रत्याशी छन्। १९ मिलियनभन्दा बढी मतदाताहरूले यो निर्वाचनमा भाग लिएका छन्।
घानामा महिलाहरूको राजनीतिक प्रतिनिधित्व बढाउन नयाँ कानुनहरू लागू भए पनि राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्ने मात्र एक महिला उम्मेदवार नाना अकोसुवा सार्पोङ फ्रिम्पोमाँ रहेका छन्। अर्की महिला उम्मेदवार अकुआ डोन्कोरको मृत्यु भएका कारण उनको नाम मतपत्रमा रहे पनि प्रतिस्थापन उम्मेदवार अयोग्य घोषित भएका थिए।
मतदानको समयमा पहिलोपटक मतदान गर्ने १८ वर्षीय सेरवा येबोआ जोशेबेथले रोजगार सिर्जना नै प्रमुख प्राथमिकता भएको बताइन्। ९५ वर्षीय कोजो येबोआले पनि युवा पुस्ताका लागि रोजगारी र शिक्षामा केन्द्रित हुन नयाँ नेतृत्वलाई सुझाव दिए।
घानामा महँगीले पछिल्ला वर्षहरूमा नागरिकहरूलाई गम्भीर रूपमा प्रभावित गरेको छ। बिबिसीका अनुसार, सन् २०२२ मा मुद्रास्फीति ५४.१ प्रतिशतको उच्च विन्दुमा पुगेको थियो। यसले थुप्रै मानिसहरूलाई गरिबीको रेखामुनि धकेल्नाका साथै जीवनस्तरमा गिरावट ल्याएको छ।
यो चुनावमा २७५ क्षेत्रका सांसदहरू चयन गर्न पनि मतदान भएको छ। सन् १९९२ यता, घानामा बहुदलीय राजनीति पुनःस्थापना भएदेखि सत्तारुढ एनपीपी र विपक्षी एनडीसी पार्टीहरू मात्र सत्ता पुग्न सफल भएका छन्।
निर्वाचन परिणाम आगामी मंगलबारसम्म घोषणा हुने अपेक्षा गरिएको छ। कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा, शीर्ष दुई प्रतिस्पर्धीबीच पुनः मतदान हुनेछ।
बिबिसीका अनुसार, यो चुनावमा घानाका नागरिकहरूले देशको भविष्य निर्माण गर्ने निर्णयको लागि मत दिएका छन्।




























