मंसिर २६, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास (साउन–असोज) मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ। यस आवमा पनि महँगी ५ प्रतिशतभन्दा तलकै बिन्दुमा रहन सफल भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले देखाएको छ। अघिल्लो वर्ष सोही अवधिमा मुद्रास्फीति ७.५० प्रतिशत थियो।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ८.४८ प्रतिशत र ६.८५ प्रतिशतले बढेको देखिन्छ। असोजसम्म खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी उपसमूह उपभोक्ता मूल्य सूचकांक २५.१५, दाल तथा गेडागुडी १०, खाद्य तथा खाद्यजन्य पदार्थ ९.५७ प्रतिशत रहेको छ।
माछामासु, मरमसला र चिनी तथा चिनीजन्य पदार्थको मूल्य भने घटेको देखिएको छ। ग्रामीण भेगमा ५ प्रतिशत र सहरी भेगमा ४.७६ प्रतिशत मूल्यवृद्धि देखिएको छ। प्रदेशगत हेर्दा कोशी प्रदेशमा ६.२६ प्रतिशत, मधेश ५.०८, बागमती ४.२४, गण्डकी ३.९८, लुम्बिनी ४.४२, कर्णाली ३.२५ र सुदूरपश्चिममा ६.५६ प्रतिशत रहेको छ।
त्यस्तै काठमाडौं उपत्यकामा महँगी ४.५० प्रतिशत रहेको छ। पहाडमा ४.३२, तराई ५.२३ र हिमालमा ५.०८ प्रतिशत मूल्यवृद्धि भएको छ।
अनलाइनखबरका अनुसार, यस आवमा पनि महँगी ५ प्रतिशतभन्दा तलकै बिन्दुमा रहन सफल भएको देखिएको छ।




























