२९ मंसिर, पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको अधिवेशनबाट माधव बराल अध्यक्षमा निर्वाचित भएका छन्। प्रेस चौतारी र प्रेस युनियनका साझा उम्मेदवार बरालले प्रेस सेन्टर र समाजवादी पत्रकार समूहका उम्मेदवार राजेन्द्र अधिकारीलाई ९ मतान्तरले पराजित गरेका हुन्।

कूल २२० मतदातामध्ये २०५ मत खसेकोमा बरालले १०५ मत प्राप्त गरे भने अधिकारीले ९६ मतमा सीमित भए। यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक भए पनि बरालको पक्षमा मतदाताको विश्वास बलियो देखियो।

उपाध्यक्षमा माधवप्रसाद रेग्मी ९० मतसहित विजयी भए। उपाध्यक्ष महिला तर्फ कञ्चन थापाले १०९ मत प्राप्त गरी विजय हासिल गरिन्। सचिव पदमा भुपाल गुरुङ १०२ मतसहित निर्वाचित भए भने सहसचिवतर्फ समावेशी कोटामा धनबहादुर गुरुङ १२६ मतसहित विजयी भए।

सहसचिव खुला तर्फ मधु अधिकारीले ११८ मत प्राप्त गरे भने कोषाध्यक्ष पदमा राजाराम पौडेल ११७ मतसहित निर्वाचित भए।

महिला सदस्यतर्फ कविता घर्ती मगरले १०१ मत ल्याएर विजय हासिल गरिन् भने दलित सदस्यतर्फ सुरेश सुनारले १४३ मत प्राप्त गरी विजयी भए। आदिवासी जनजाति सदस्यका रूपमा पुनम थापा मगर निर्विरोध निर्वाचित भइन्। अन्य समावेशी सदस्यका रूपमा सूर्य परियार पनि निर्विरोध निर्वाचित भएका छन्।

खुला सदस्यतर्फ ९ जना निर्वाचित भएका छन्। अर्जुन (सुशान्त) गाहा, गौरव त्रिपाठी, राजु गिरी, बालकुमारी पौडेल, सन्तोष सुवेदी, रिखिराम जि.सी., तुलसीराम सुवेदी, निराजन अधिकारी, र पुष्पराज दाहाल खुला सदस्य पदमा विजयी भएका हुन्।

राष्ट्रिय परिषद् सदस्यमा आरजु विष्ट (मोहनकुमार विष्ट), दिननाथ बराल, कृष्णमणि बराल, भरत कोईराला, र राजबहादुर गुरुङ निर्वाचित भएका छन्।

निर्वाचनको समग्र प्रक्रिया प्रतिस्पर्धात्मक, शान्तिपूर्ण, र व्यवस्थित रूपमा सम्पन्न भएको आयोजकले जानकारी दिएको छ। कास्की शाखाको नयाँ नेतृत्वले आगामी दिनमा पत्रकार महासंघलाई थप सबल र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0