२९ मंसिर, काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकार र राष्ट्र बैंकलाई समन्वय गरेर निर्माण कम्पनीहरूलाई भुक्तानीको व्यवस्था गर्न माग गरेका छन्। शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उनले, मङ्सिरपछि ९० प्रतिशतभन्दा बढी निर्माण व्यवसायीहरू आर्थिक संकटमा पर्ने चेतावनी पनि दिएका छन्।
अध्यक्ष सिंहले सरकारलाई समस्या समाधानको लागि राष्ट्र बैंकसँग समन्वय गर्न आह्वान गर्दै, म्याद थप गर्नु मात्रै समस्याको समाधान नहुने धारणा व्यक्त गरे। उनले मुलुकको अर्थतन्त्रलाई सहज र चलायमान बनाउन सरकारको पहल आवश्यक भएको बताए।
उनले सरकारलाई निर्माण व्यवसायीहरूको ऋण भुक्तानी सम्बन्धी थप कारोबार गर्न नदिने अवस्था आएको र एलसी खोल्नका लागि सहज प्रक्रिया अपनाउनुपर्ने बताएका छन्। साथै, सिंहले ६.५ खर्बको श्रोतविनाको योजनाहरूलाई पुनः प्राथमिकतामा राख्न र १ खर्बभित्र समायोजन नगरेसम्म निर्माण क्षेत्रलाई चलायमान बनाउन सक्ने अवस्था नरहने स्पष्ट पारे।




























