इलाम, पुस ५ । काठमाडौंको न्युरोड टिम (एनआरटी) ले झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ। कप्तान अञ्जन विष्टको प्रभावशाली प्रदर्शनसहितको ह्याट्रिकका कारण एनआरटीले चित्लाङ एफसीलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।
खेलको सुरुवातदेखि नै एनआरटी आक्रामक देखियो। १३ औँ मिनेटमा कप्तान अञ्जनले विदेशी खेलाडी नेमारको क्रस पासलाई सदुपयोग गर्दै टिमलाई अग्रता दिलाए। ३६ औँ मिनेटमा अञ्जनले पेनाल्टीमार्फत अर्को गोल थपे। चित्लाङका डिफेन्डर गौरव श्रेष्ठले अञ्जनलाई फाउल गरेपछि पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरे।
चित्लाङले पहिलो हाफको अन्त्यतिर एक गोल फर्काउन सफल रह्यो। ४२ औँ मिनेटमा विदेशी खेलाडी फाजिलको पासमा जनक कोइरालाले सुन्दर गोल गरे। तर, दोस्रो हाफमा एनआरटी अझ सशक्त देखियो। ६५ औँ मिनेटमा अञ्जनको पासमा नेमारले टिमको तेस्रो गोल थपे। त्यसपछि ६८ औँ मिनेटमा शिशिर लेखीले नेमारकै पासमा चौथो गोल गरे।
८८ औँ मिनेटमा अञ्जनले दोस्रो पेनाल्टी सदुपयोग गर्दै ह्याट्रिक पूरा गरे। झापा कपमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी बनेका छन्। उत्कृष्ट प्रदर्शनका लागि अञ्जन खेलको म्यान अफ द म्याच घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
एनआरटीले सेमिफाइनलमा इटहरीको राष्ट्रिय जागृति क्लबसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। फाइनल खेल पुस ८ गते हुनेछ।





























