काठमाडौं, पुस ७ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा उपाधि जितेको जनकपुर बोल्ट्सलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष बधाई र सम्मान गरेका छन्। आज बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जनकपुर बोल्ट्सका क्याप्टेन र खेलाडीहरूसँगै नेपाल क्रिकेट सङ्घ र व्यवस्थापकलाई उत्कृष्ट प्रदर्शनका लागि धन्यवाद व्यक्त गरे।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो। सो सफलता नेपाली क्रिकेटको प्रगतिको प्रतीक भएको बताउँदै प्रधानमन्त्री ओलीले खेलाडीहरूलाई थप सफलता हासिल गर्न प्रेरणा प्रदान गरे। उनले भने, “तपाईँहरू केवल खेलाडी मात्र होइन, देशका नायक र महानायक पनि हो। नेपाली क्रिकेटलाई विश्वसामु उचाल्न तपाईँहरूको योगदान महत्वपूर्ण छ।”

प्रधानमन्त्रीले आफ्नो कार्यकालको शुरुवातमै कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नति गर्ने निर्णय भएको जानकारी गराउँदै खेल क्षेत्रको विकासमा सरकार सदैव साथमा रहने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले विदेशी खेलाडीहरूको श्रम स्वीकृतिको प्रक्रियामा देखिएका झञ्झट हटाउन आग्रह गरे। प्रधानमन्त्रीले यस विषयमा आवश्यक सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको आश्वासन दिए।

जनकपुर बोल्ट्सका क्याप्टेन आसिफ शेखले प्रधानमन्त्रीबाट पाएको सम्मानले टिमलाई थप ऊर्जा प्रदान गरेको प्रतिक्रिया दिए। उनले सरकारको प्रोत्साहनले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास पनि व्यक्त गरे।

कार्यक्रममा प्रधानमन्त्रीले खेलको विकासले देशको समग्र प्रगतिमा पनि योगदान पुर्‍याउने भएकाले यो क्षेत्रमा दीर्घकालीन योजना आवश्यक रहेको बताए। एनपीएलको ऐतिहासिक सफलता नेपाली खेल क्षेत्रमा नयाँ युगको सुरुवात भएको उनको भनाइ थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0