पोखरा, १४ पुस। पोखराको प्रसिद्ध फेवातालमा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ आजदेखि सुरु हुँदैछ। नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्धलाई सुदृढ गर्दै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यो प्रतियोगिता पुस १५ सम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा नेपाल, चीन र सिङ्गापुरका २० टोली सहभागी हुनेछन्। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए। चीनको छेन्दुबाट चार्टर विमानमार्फत आएका १२९ खेलाडीले पुस ११ देखि फेवातालमा नियमित अभ्यास गर्दै प्रतियोगिताका लागि तयार भएका छन्।
नेपालका ११ टोलीमा गण्डकी, बागमती, कर्णाली प्रदेश, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली, र नेपाल र्याफ्टिङ एजेन्सिज एशोसिएशन (नारा) जस्ता प्रतिष्ठित समूह सहभागी छन्। चीनबाट आठ र सिङ्गापुरबाट एक टोलीले पनि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा पाँच सय मिटर र दुई सय मिटर दौडका विजेताले पाँच हजार अमेरिकी डलर, उपविजेताले दुई हजार डलर, र तृतीय स्थान हासिल गर्ने टोलीले एक हजार दुई सय अमेरिकी डलर पुरस्कार पाउनेछन्।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सम्पन्न हुने यो प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान दिने विश्वास गरिएको छ। फेवातालको आकर्षक वातावरणमा हुने यस फेस्टिभलले नेपाल–चीन सांस्कृतिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।





























