काठमाडौं, १५ पुस । नेपाली क्रिकेटका चर्चित खेलाडी र सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ओमोडा एन्ड जेइकोले आफ्नो ब्रान्ड एम्बासडरका रूपमा नियुक्त गरेको छ। सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत ऐरीसँग सम्झौता (एमओयु) हस्ताक्षर गरिएको हो।

नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट नेपाली खेलाडी घोषित भएका दीपेन्द्रलाई सोही अवसरमा पुरस्कारस्वरूप ओमोडाले कार हस्तान्तरण गरेको छ। शारडा ग्रुपका निर्देशकहरूसहित विशिष्ट अतिथिहरूको उपस्थितिमा दीपेन्द्रलाई आधिकारिक रूपमा ब्रान्ड एम्बासडर घोषणा गरिएको थियो।

सम्झौतापछि बोल्दै दीपेन्द्रले एनपीएललाई सफल बनाउन भूमिका खेलेका सबैप्रति आभार व्यक्त गरे। ‘एनपीएल सफल भयो, र यसका लागि सबैलाई धन्यवाद। उत्कृष्ट खेलाडीलाई कार पुरस्कार दिने ओमोडा र क्यानप्रति म विशेष आभारी छु। भाग्यवश त्यो खेलाडी म नै भएँ,’ उनले भने। आफ्नो टिममेट र व्यवस्थापनलाई फाइनलसम्म पुर्‍याउन गरेको सहयोगप्रति उनले आभार व्यक्त गर्दै नयाँ खेलाडीहरूलाई यस्तो कदमले प्रेरणा दिने बताए।

ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणका लागि ‘ड्रिभन बाइ’ सह-प्रायोजकका रूपमा आबद्ध भएको थियो। प्रतियोगिताको सुरुवातअघि नै कम्पनीले उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने घोषणा गरेको थियो। दीपेन्द्रले ओमोडासँगको सहकार्यलाई आफ्नो करियरको महत्त्वपूर्ण अवसरको रूपमा लिएको बताए।

‘अब हामी एउटै यात्रामा छौं। ओमोडाको साथ पाउँदा म खुसी छु,’ उनले थपे।

एनपीएलको सफल समापनसँगै ओमोडाको यो कदमले नेपाली क्रिकेट र खेलाडीहरूलाई थप प्रोत्साहन प्रदान गर्ने विश्वास गरिएको छ। ओमोडाले नेपाली खेलकुदलाई प्रोत्साहन गर्न गरेको योगदान खेलप्रेमी र खेलाडीहरूका लागि प्रेरणादायी बनेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0