गुल्मी । छत्रकोट गाउँपालिकामा जिल्लाकै पहिलो जिपलाइन संचालनमा आउने भएको छ। छत्रकोट वडा नम्बर ३ स्थित देवालय मन्दिरदेखि देवी भगवती मन्दिरसम्म जोडिएको जिपलाइन शुक्रबारबाट औपचारिक रूपमा संचालन गरिने छ।

गाउँपालिकाको अध्यक्ष रामप्रसाद पाण्डेले पर्यटकीय विकास र रोजगारी सिर्जनाको लक्ष्यसहित जिपलाइन निर्माण गरिएको जानकारी दिए। “रुरु रेसुङ्गाको धार्मिक आश, छत्रकोटमा बसौँ बास” नीतिका साथ पालिकाले धार्मिक र पर्यटकीय स्थलको प्रवर्द्धन गर्दै पर्यटक आकर्षित गर्ने योजना बनाएको छ।

जिपलाइनको लम्बाइ १,०८० मिटर र दुई टावरबीचको दुरी ९६० मिटर छ। यात्रा ५५ देखि ७७ सेकेन्डमा पूरा गर्न सकिनेछ। जिपलाइन निर्माण सानु सेतीदेवी कन्स्ट्रक्सनले ८६ लाख ७३ हजार रुपैयाँमा सम्पन्न गरेको हो।

स्थानीय बासिन्दा, विद्यार्थी, बाहिरी नागरिक र विदेशी पर्यटकका लागि फरक शुल्क निर्धारण गरिएको छ। प्रत्येक यात्रुलाई १० लाख रुपैयाँको बीमा सुविधा पनि प्रदान गरिएको छ। दीगो संचालनका लागि पालिकाले निजी क्षेत्रलाई जिम्मा दिन टेन्डर प्रक्रिया तयारी गरिरहेको छ।

स्थानीय भुवन भुसालले जिपलाइनले क्षेत्रको आर्थिक गतिविधि, पर्यटकीय विकास र रोजगारी सिर्जनामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। रिडी–तम्घास सडक र नजिकैको चोयघा मन्दिरले जिपलाइनलाई थप आकर्षण दिने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0