बारा। नेपाल प्रहरीले हत्यामा संलग्न रहेका एक प्रहरी अधिकृत र दुई जनालाई पक्राउ गरेको छ। प्रहरी उपरीक्षक महेन्द्र खड्काले पत्रकार सम्मेलनमा जानकारी दिँदै भने कि, हत्यामा संलग्न रहेका राष्ट्रिय अनुसन्धान विभागका अधिकृत श्रीकान्त तिवारी र जितपुरसिमरा-१९ का पुरुषोत्तम कुमार दास र इन्द्रजित कुमार दासलाई पक्राउ गरिएको हो।
ईलाका प्रहरी कार्यालय सिमरामा कार्यरत राजकुमार रुम्बा, जो हाल सिमरा विमानस्थलमा सुरक्षा गार्डको रूपमा कार्यरत थिए, मृत अवस्थामा भेटिएका थिए। रुम्बाको शव जितपुर सिमरा-११ रमौली लोसन्डा सडक खण्डमा फेला परेको थियो। पोस्टमार्टमका क्रममा उनको टाउकोमा गोलीको बुलेट भेटिएको र गोली प्रहारले नै उनको मृत्यु भएको पुष्टि भएको प्रहरी उपरीक्षक खड्काले बताए।
पक्राउ परेका दाससँग मृतक रुम्बाले लगाएको सुनको सिक्री र ६ थान मोबाइल फोन, यमाहा मोटरसाइकल समेत बरामद गरिएको छ। जिल्ला अदालत बाराबाट ७ दिनको म्याद थप गरेर कर्तव्य ज्यानको मुद्दा चलाइने भएको छ।































