पोखरा, पुस १९ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशन आगामी माघ २६ र २७ गते पोखरामा हुने भएको छ। अधिवेशनले नयाँ प्रदेश कार्यसमिति चयन गर्ने पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए। अधिवेशन सम्पन्न गर्न प्रदेश कमिटी, विभिन्न उपसमिति र पार्टी सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गरिएको उनले बताए।

पार्टीको केन्द्रीय निर्देशनअनुसार आगामी फागुनभित्र सबै प्रदेशका अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ। हालसम्म कर्णाली प्रदेशको अधिवेशन मात्र सम्पन्न भएको छ। पार्टीले भर्खरै नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन टुंग्याएको छ। गण्डकी प्रदेश कमिटीले आयोजना गर्ने अधिवेशनमा प्रदेशका ११ जिल्लाका ४ सय ५० जना प्रतिनिधि सहभागी हुनेछन्।

अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न अध्यक्ष बरालको संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल आयोजक कमिटी र विभिन्न १२ उपसमिति गठन गरिएको छ। पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। अधिवेशनमा ५० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ। प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि चयन गरिनेछ। प्रत्येक संघीय क्षेत्रबाट ३ प्रतिनिधि चयन हुँदा १ महिला अनिवार्य गरिएको छ भने ५ प्रतिनिधि चयन हुँदा १ जना उत्पीडित समुदायबाट अनिवार्य गरिएको अध्यक्ष बरालले जानकारी दिए। प्रत्येक जिल्लाबाट १ जना मजदुरको प्रतिनिधित्व पनि अनिवार्य गरिएको छ।

पार्टीका जनसंगठनको प्रदेश कमिटीलाई पनि निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन गर्ने व्यवस्था मिलाइएको छ। ५० स्वयंसेवक र आयोजक गरी करिब ६ सय जनाको सहभागिता रहने अनुमान गरिएको छ। अधिवेशनमा गण्डकी प्रदेशको सामाजिक, आर्थिक र सांस्कृतिक विषयमा छलफल केन्द्रित हुनेछ। गण्डकी प्रदेशका जनताको जनजीविका र प्रदेशको सन्तुलित तथा समावेशी विकासका सवालमा पनि अधिवेशनमा बहस हुनेछ। आर्थिक समृद्धि र दिगो विकासका विषयमा समेत छलफल गर्ने कार्यक्रम रहेको अध्यक्ष बरालले बताए। प्रतिनिधि प्रवेश शुल्कका साथै पार्टीको आर्थिक अवस्था राम्रो भएका सदस्यहरूलाई सहयोगका लागि अनुरोध गर्ने उनले बताए। नेकपा (एस) ले आगामी चैतसम्म सबै प्रदेशको अधिवेशन सक्ने निर्णय गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0