वीरगन्ज, २८ पुस । आम जनता पार्टी (आजपा) ले मुलुकमा बढ्दो भ्रष्टाचारको विरोध गर्दै वीरगन्जमा बृहत् विरोध सभा सम्पन्न गरेको छ। शनिबार वीरगन्जको घण्टाघरमा आयोजित सभामा आजपाले वीरगन्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग गर्दै भ्रष्टाचारविरुद्ध सशक्त कदम चाल्ने प्रतिबद्धता जनाएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वीरगन्जको ऐतिहासिक योगदान र आर्थिक महत्त्वलाई बेवास्ता गर्दै शासक वर्गले यस क्षेत्रको गौरव मेटाउन खोजेको आरोप लगाए। साहले वीरगन्जले मुलुकलाई प्रदान गर्दै आएको राजस्वको अनुपातमा विकास नपाएको र यो स्थिति सह्य नहुने बताए। उनले वीरगन्जलाई आर्थिक राजधानी घोषणा नगरिए पार्टीले जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिए।

सभामा साहले भने, “वीरगन्जलाई दुहुना गाईजस्तै ठानेर शासक वर्गले यहाँको समग्र विकासलाई बेवास्ता गर्दै आएका छन्। काठमाडौं प्रशासनिक राजधानी, पोखरा पर्यटकीय राजधानी हुन्छ भने वीरगन्ज आर्थिक राजधानी किन नहुने? वीरगन्जले देशलाई जति राजस्व बुझाउँछ, त्यसको सम्मान गर्नुपर्छ।”

उनले मधेस प्रदेशमा हालै सम्पन्न भ्रष्टाचारविरुद्धको मधेस यात्रा अभियानको सन्दर्भ उल्लेख गर्दै सरकारको संरक्षण र मिलेमतोमै भ्रष्टाचार बढेको आरोप लगाए। साहले सरकारकै संरक्षणमा भ्रष्टाचार गर्नेहरूको फाइल लुकाउने, छानबिन नगर्ने र दोषीलाई जोगाउने काम भइरहेको बताए।

“प्रधानमन्त्री केपी शर्मा ओलीकै नाम विभिन्न भ्रष्टाचार काण्डमा जोडिए पनि छानबिन भएको देखिँदैन। भ्रष्टाचार नियन्त्रणका जिम्मेवार निकायहरू आफैं भ्रष्टाचारमा लिप्त छन्,” साहले भने। “देशको राजस्व लुटेर, ढुकुटी रित्त्याएर, विदेशी ऋण थपेर देशलाई आर्थिक संकटमा पुर्‍याउनेहरूको साजिश सहन सकिँदैन।”

सभामा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष समिना हुसेन, अशोक लामा, राजन यादव, सियाराम कुशवाहा, उमेश कुशवाहा, विजय यादव निर्विजलगायत नेताहरूले देशमा व्याप्त भ्रष्टाचार र बेथितिको विरोध गर्दै वीरगन्जको विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

सभाको अध्यक्षता आजपाका पर्सा जिल्ला अध्यक्ष विश्वराज पटेलले गरेका थिए। सभामा पार्टीका अन्य वरिष्ठ नेताहरूको उपस्थिति थियो। वीरगन्जलाई आर्थिक राजधानी बनाउन देशव्यापी आन्दोलन गर्ने चेतावनी दिँदै आजपाले भ्रष्टाचारविरोधी अभियानलाई अझ सशक्त बनाउने घोषणा गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0