पोखरा, २८ पुस । साझा सेवाको ४० औँ साधारण सभा तथा कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार वितरण समारोह शनिबार काठमाडौंको नेपालहाउस, हात्तीसारमा सम्पन्न भयो। सहकारी अभियानलाई प्रवर्द्धन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याएको भन्दै यो वर्षको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार सहकारी अभियन्ता मिनराज कँडेललाई प्रदान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले कँडेललाई रु ५० हजार नगद र सम्मानपत्रले सम्मान गरे। सचिव पोखरेलले यस्ता पुरस्कारहरूले सहकारी अभियानलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै साझा सेवाले सर्वसाधारणलाई विश्वसनीय सेवा उपलब्ध गराएको प्रशंसा गरे।
साझा सेवाका अध्यक्ष शङ्करप्रसाद पाण्डेले सहकारी क्षेत्रको विकास र सेवामा मिनराज कँडेलले पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्न पाउँदा खुसी व्यक्त गरे। यस अवसरमा राष्ट्रिय सहकारी महासंघ लिमिटेडका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारीको उत्थानमा यस्ता पुरस्कारले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।
पुरस्कृत व्यक्तित्व मिनराज कँडेलले पुरस्कारले आफूलाई सहकारीप्रति थप जिम्मेवारीपूर्ण बन्न प्रेरित गरेको उल्लेख गरे। कार्यक्रममा पत्रकार कनकमणि दीक्षित र सामाजिक अभियन्ता रूपा जोशीले कमलमणि दीक्षितले सहकारी अभियानमा पु¥याएको योगदानबारे चर्चा गरे।
साझा सेवाले इन्धनको बिक्रीवितरण, ढुवानी, ग्यास आपूर्ति र विद्युतीय चार्जिङ स्टेशनमार्फत सेवा पुर्याउँदै आएको छ। बनेपामा पूर्ण क्षमताको विद्युतीय चार्जिङ स्टेशन सञ्चालन गर्दै संस्थाले भविष्यमा समेत नागरिकलाई गुणस्तरीय सेवा दिन प्रतिबद्धता जनाएको छ।




























