पोखरा, २८ पुस – भारतको राजधानी नयाँ दिल्ली आइतबार बाक्लो हुस्सुको चपेटामा परेको बिबिसीले जनाएको छ। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार, दिल्लीमा मेघगर्जन र असिनासहित वर्षा हुने चेतावनी जारी गरिएको छ। आइतबार बिहानको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ।
‘इन्डिया गेट’लगायतका स्थानमा हुस्सुको प्रभावले दृश्यता लगभग शून्य रहेको बताइएको छ। शनिबार दिल्लीमा हल्का वर्षासहित न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियसमा झरेको थियो। यसले गर्दा चिसो मौसमले जनजीवनमा प्रभाव पारेको छ।
आईएमडीले कानपुर र ग्वालियरजस्ता शहरहरूमा पनि बाक्लो हुस्सु लागेको जानकारी दिएको छ। दिल्लीको औसत तापक्रम शनिबार ११ डिग्री सेल्सियस मापन गरिएको थियो। प्रतिकूल मौसमका बावजुद इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि उडान रद्द वा डाइभर्सन गरिएको छैन।
तर, कुहिरोको कारण धेरै रेल सेवा ढिलाइ भएको बिबिसीले जनाएको छ। यस्तो अवस्थामा यातायात व्यवस्थापनलाई थप प्रभावकारी बनाउन अपिल गरिएको छ। मौसमको बदलिंदो स्थितिलाई मध्यनजर गर्दै स्थानीयवासीलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।


























