पोखरा, २९ पुस। पोखराको अमरसिंह चौरमा जारी १३औँ पोखरा महोत्सवको चौथो दिन आइतबार दर्शकले कलाकारहरूको बहुप्रतीक्षित प्रस्तुतीमा भरपुर मनोरञ्जन लिएका छन्। विशेष गरी गायक प्रकाश दुतराजको प्रस्तुतीले महोत्सवमा उपस्थित दर्शकलाई झुमाउन सफल रह्यो। उनले “चोली मैलो भो” गीतबाट आफ्नो प्रस्तुती सुरु गर्दै “जुन माया,” “लाहुर जाने रेलैमा,” र “रेशम” लगायत दर्जनौँ लोकप्रिय गीत प्रस्तुत गरे।
दुतराजको प्रस्तुतीसँगै चोलेन्द्र पौडेल, कृष्ण अखेली, सीता परियार, तुलसा क्षेत्री लगायतका कलाकारहरूले पनि दर्शकलाई मन्त्रमुग्ध बनाए। हास्य कलाकार दीपक थापाको प्रस्तुती र जादुले समेत दर्शकलाई खुसी बनायो। साँझतर्फ चर्चित ¥यापर उर्गेनको लाइभ कन्सर्टले युवापुस्तालाई झुम्न बाध्य बनायो।
महोत्सवका आयोजकहरूका अनुसार सोमबारको दिन ज्योती मगर, शंकर बिरही गुरुङ, माया गुरुङ, कृष्ण सुवेदीजस्ता कलाकारको प्रस्तुती रहनेछ। साँझको लाइभ कन्सर्टतर्फ डी फिरन्तेको प्रस्तुती रहने जानकारी गराइएको छ।
महोत्सवमा व्यापारिक स्टलहरूको आकर्षण पनि बढ्दो छ। स्टलहरूबाट विभिन्न छुट तथा पुरस्कार योजना प्रस्तुत गरिएका छन्। मुख्य प्रायोजक बेटर होम एप्लायन्सले सामान खरिद गर्ने उपभोक्तालाई आकर्षक पुरस्कार जित्ने अवसर दिएको छ। सह-प्रायोजक बन्दीपुर केबलकारले महोत्सवको टिकटका अर्धकट्टीमार्फत केबलकार, स्काई साइक्लिङ, जीपलाइनमा छुट प्रदान गरिरहेको छ।
नेपाल टेलिकमले निशुल्क सिम वितरण गर्दैछ भने फुड पार्टनर पोखरा सेकुवा घरले टिकटका अर्धकट्टीसहितका ग्राहकलाई १० प्रतिशत छुट दिएको छ। महोत्सव टिकट अनलाइनबाट पनि बुक गर्न सकिन्छ।




























