पोखरा, ५ माघ। बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले शनिबार ३३ जना राजनीतिक बन्दीलाई आममाफी दिने निर्णय गरेका छन्। सन् १९९४ देखि सत्तामा रहेका लुकासेन्कोले यस कदमलाई आफ्नो शासनलाई उदारवादी देखाउने प्रयासका रूपमा लिएको विश्लेषण गरिएको छ।
राष्ट्रपति लुकासेन्कोमाथि २०२० मा भएको राष्ट्रपतीय चुनावमा धाँधली गरेको आरोप लागेका थिए। यस विरोधमा देशभर प्रदर्शन चर्किएपछि दङ्गा प्रहरीले प्रदर्शनकारीमाथि कडा कारबाही गरेको थियो। अधिकारवादी समूहका अनुसार २०२० पछि लुकासेन्कोका विरोधी र प्रदर्शनकारी नेतासहित एक हजारभन्दा बढी राजनीतिक बन्दी पक्राउ परेका थिए। शनिबार माफी दिइएका ३३ जना बन्दीलाई ‘अतिवादी गतिविधि’ गरेको अभियोगमा जेल सजाय सुनाइएको थियो।
जनवरी २६ मा हुन लागेको मतदानअघि आफूलाई उदारवादी देखाउन राष्ट्रपति लुकासेन्कोले पछिल्ला ६ महिनामा २०० भन्दा बढी बन्दीलाई रिहा गरेका छन्। शनिबार रिहा गरिएका व्यक्तिहरूको पहिचान सार्वजनिक गरिएको छैन। ती व्यक्तिहरू विपक्षीका प्रमुख नेताहरू हुन् वा होइनन् भन्ने पनि स्पष्ट छैन।
मानव अधिकारवादी समूहले राजनीतिक बन्दीहरूलाई कठिन परिस्थितिमा राखिएको र उनीहरूलाई वकिल तथा आफन्तसँग सम्पर्क गर्न समेत नदिइएको आरोप लगाएका छन्। आगामी निर्वाचनमा लुकासेन्कोले कुनै प्रत्यक्ष प्रतिस्पर्धाको सामना गर्नुपर्ने सम्भावना छैन।




























