पोखरा, ७ माघ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेन्सी बजारमा तहल्का मच्चाउँदै आफ्नो ट्रम्प (TRUMP) मीम क्वाइन लन्च गरेका छन्। ट्रम्पको यस मीम क्वाइनले बजारमा प्रवेश गरेको केही घण्टामै उल्लेखनीय वृद्धि गर्दै ३०० प्रतिशतसम्मको उछाल देखाएको छ। यसको शुरुवाती मूल्य ०.१८ अमेरिकी डलर थियो, तर केही समयमै यो २१.५१ अमेरिकी डलर पुगेको छ।
ट्रम्प मीम क्वाइनको बजार पूँजीकरण ८ अर्ब डलर पुगेको छ भने यसको व्यापारिक मात्रा १ अर्ब डलर नाघेको छ। यो सिक्का सोलाना ब्लकचेनमा आधारित छ र यसको कुल आपूर्ति १ अर्ब टोकन रहेको छ। प्रारम्भिक चरणमा २० करोड टोकन जारी गरिएको छ भने बाँकी टोकन तीन वर्षको अवधिमा चरणबद्ध रूपमा जारी गरिनेछ।
ट्रम्प मीम क्वाइन ट्रम्प संगठनको सहायक कम्पनी सीआईसी डिजिटल एलएलसी र नयाँ प्रविष्टि फाइट फाइट फाइट एलएलसीद्वारा सञ्चालित छ। ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्महरू ट्रुथ सोसल र एक्समार्फत यस सिक्काबारे जानकारी दिएका छन्। साथै, आफ्ना समर्थकहरूलाई ४८ घण्टा भित्र gettrumpmemes.com वेबसाइटमार्फत टोकन खरिद गर्न आग्रह गरेका छन्।
यस मीम क्वाइनको लोकप्रियता ट्रम्पको राष्ट्रपति पदको दोस्रो कार्यकालको सुरुवातसँगै अझै बढ्ने अनुमान गरिएको छ। सपथ ग्रहणको दिन ट्रम्प मीम क्वाइनको मूल्यमा थप वृद्धि हुने विश्वास गरिएको छ।
क्रिप्टोकरेन्सी बजारमा ट्रम्प मीम क्वाइनको प्रवेशले अन्य डिजिटल मुद्राहरूलाई पनि प्रतिस्पर्धात्मक बनाउने सम्भावना देखिएको छ। सामाजिक सञ्जालमा यसबारे व्यापक चर्चा भइरहेको छ, जसले ट्रम्पको यो कदमलाई नयाँ युगको सुरुवातको रूपमा व्याख्या गरिएको छ।



























