पोखरा, १० माघ । भारतीय दूरसञ्चार नियामक प्राधिकरण (ट्राई) ले सिम कार्डको म्याद र सक्रियतासँग सम्बन्धित नयाँ नियमहरू सार्वजनिक गरेको छ। यी नियमले रिचार्ज गर्न बिर्सने वा बारम्बार रिचार्ज गर्नु पर्ने झन्झटमा रहेका ग्राहकलाई ठूलो राहत प्रदान गर्नेछ।
जियो, एयरटेल, भोडाफोन आइडिया, र बीएसएनएलजस्ता प्रमुख सेवा प्रदायकहरूले नयाँ निर्देशिका लागू गर्नेछन्। प्रिपेड सिम कार्ड प्रयोगकर्ताहरूले ९० दिनसम्म सिम निष्क्रिय राख्न सक्छन्। त्यसपछि सिमको ब्यालेन्सबाट २० रुपैयाँ कटौती गरी ३० दिनको थप म्याद दिने व्यवस्था गरिएको छ। तर, सिममा पर्याप्त ब्यालेन्स नभए सिम निष्क्रिय हुनेछ। यस्तो अवस्थामा ग्राहकले १५ दिनभित्र सिम पुनः सक्रिय गराउन सक्नेछन्।
बीएसएनएलले सबैभन्दा लामो १६५ दिनसम्मको म्यादको सुविधा उपलब्ध गराउनेछ। यो सुविधा बारम्बार रिचार्ज गर्न नचाहने ग्राहकका लागि विशेष आकर्षक हुनेछ।
नयाँ नियमले सिम कार्ड व्यवस्थापन सजिलो बनाउँदै धेरै सिम प्रयोग गर्ने वा महँगो योजना व्यहोर्दै आएका ग्राहकलाई वित्तीय रूपमा राहत दिने अपेक्षा गरिएको छ।




























