पोखरा, २१ माघ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई बहुमत प्राप्त दल बनाउन नेता तथा कार्यकर्ताबीच सशक्त एकता आवश्यक रहेको बताएका छन्। उनले विद्यमान समावेशी एवं समानुपातिक राजनीतिक प्रणालीका कारण कुनै एकल पार्टीलाई बहुमत ल्याउन गाह्रो भए पनि एकताबद्ध प्रयासले कांग्रेसलाई बहुमतको स्थितिमा पुर्याउन सकिने विश्वास व्यक्त गरे।
पोखरामा आयोजित नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै देउवाले लोकतन्त्र, संघीयता र समावेशितालाई संस्थागत गर्दै मुलुकका सबै जातजाति, भाषा, समुदाय र क्षेत्रको प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्ने बताए। उनले विगतका संघर्षबाट प्राप्त उपलब्धिलाई बलियो बनाउनका लागि कांग्रेस अझ सशक्त रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।
सभापति देउवाले कांग्रेसका पूर्वनेता बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतका नेताहरूले देखाएको मार्गदर्शनलाई आत्मसात् गर्दै पार्टीलाई सुमधुर सम्बन्धका साथ अघि बढाउनुपर्ने बताए। उनले पार्टीभित्र सुदृढ संगठन निर्माण गरेर जनताको विश्वास जित्न आवश्यक रहेको उल्लेख गरे।
देश विकासका लागि अधिकारको विकेन्द्रीकरण अनिवार्य रहेको बताउँदै उनले स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरी नीति निर्माण गर्नुपर्नेमा जोड दिए। उनले कांग्रेसले नेतृत्व गरेको सरकारहरूले संविधानको मर्मअनुरूप नीति तथा कार्यक्रम अगाडि बढाएको दाबी गरे।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति पूर्णबहादुर खड्काले पार्टी प्रशिक्षणलाई प्रभावकारी बनाउन केन्द्रदेखि स्थानीय तहसम्म अभियान सञ्चालन गरिने जानकारी दिए। पार्टीको प्रशिक्षण पुस्तिका निर्माणका लागि ‘ड्राफ्ट’ तयार भइसकेको र माघ मसान्तसम्म सुझाव संकलन गरी अन्तिम रूप दिने योजना रहेको बताए।
गण्डकी प्रदेश कांग्रेसका सभापति शुक्रराज शर्माले पार्टीको ऐतिहासिक विरासतलाई बिर्सन नहुने बताउँदै सबैलाई समेटेर कांग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिए। उनले कांग्रेसभित्र एकताको भावना अझ मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरे।
कांग्रेसको एकदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा सातै प्रदेशका कांग्रेस सभापति, प्रदेश प्रशिक्षण विभाग प्रमुख, केन्द्रीय पदाधिकारी, कास्की जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको उपस्थिति रहेको थियो।































